काठमाडौं । चिनियाँ उत्पादन नेपालमा अहिलेसम्म ग्राहकको पहिलो रोजाईमा पर्न सकिरहेको छैन । तर, चिनियाँ कम्पनीले ल्याएका गाडी विश्वका कुनै पनि ब्राण्डले उत्पादन गरेका गाडीभन्दा कम छैनन् । अमेरिकी खुफिया र आइटी एजेन्सीले समेत टेक्नोलोजीमा चीनले विश्वलाई पछि परिसकेको अभिव्यक्ति दिएको अहिलेको समयमा चीनमा बनेका गाडीमा प्रयोग भएका प्रविधिलाई नराम्रो भन्न सक्ने अवस्था छैन ।
डिजाइन, लग्जरी फिचर, हाइटेक प्रविधि चीनमा उत्पादन हुने गाडीको प्रयावाची बनेका छन् । सस्तो श्रम मूल्य, धेरै संख्यामा गाडी उत्पादन गर्ने क्षमता र आफ्नै टेक्नोलोजीका कारण चीनमा बनेका गाडी अन्य मुलुकको तुलनामा सस्ता छन् ।
चीनको प्रख्यात सरकारी लगानीको अटोमोवाइल कम्पनी चेरी ब्राण्ड नेपालमा पुन आएको छ । करिब १० वर्षपछि चेरी ब्राण्डले नेपालमा पुनआगमन गरेको हो । दश वर्ष अगाडि नै नेपाली बजारमा चेरीको टिगो एसयूभी र क्यूक्यू ह्याचव्याक कार राम्रो संख्यामा विक्री भएको थियो ।
सारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोवाइलले नेपाल ल्याएको चेरी ब्राण्डको टिगो फोर प्रो नेपालमा विक्री सुरु भएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको यो गाडीको लम्बाई ४३३८ एमएम, चौडाई १८३० एमएम, उचाई १६४५ एमएम रहेको छ । टीगो फोर प्रोको ह्वीलवेस २६३० एमएम लामो छ । २०० एमएमको ग्राउण्ड क्लियरेन्स र ३४० लिटरको बुट स्पेसले धेरै मानिसको आवस्यकता पुरा गर्न सक्छ ।

मेरोअटो टीमले केही दिनअघि यसको टेस्ट ड्राइभ गरेको थियो । बाघको अनुहारबाट प्रभावित अगाडिको डिजाइनले यसको ‘फ्रन्ट फेस’लाई निकै आक्रमक बनाएको छ । अगाडि बम्परमा प्रयोग भएको क्रोम फिनिसिङले निकै प्रिमियम लुक्स प्रदान गरेको छ ।
अत्याधुनिक फिचर लोडेड टिगो फोर प्रो भित्र बस्ने वित्तिकै निकै आरामदायी महशुस गर्न सकिन्छ । गाडीको क्यावीनमा सबैतिर सफ्ट टच ‘मेटिरियल’को प्रयोग गरिएको छ । सिटमा पनि ‘सफ्ट टच पीभीसी’को कभर प्रयोग भएको छ । गाडीमा ७ इन्चको पूर्णत डिजिटल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर रहेको छ । ड्यासबोर्डमा दिइएको १०.२५ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको सुविधाको लागि इलेक्ट्रीकल्ली एड्जस्टेवल ड्राइभिङ सिट, टिल्ट र टेलिस्कोपीक सहितको फोर वे एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्वील, सिभीटी अटोमेटिक गियरबक्स, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट असिस्ट जस्ता फिचरले चेरी टिगो फोर प्रो चलाउन निकै सहज महशुस भयो ।

यसमा रहेको दुई फरक अटोमेटिक क्लाइमेट कन्ट्रोलको सहयोगले अगाडि सिटमा यात्रा गर्ने दुबै जनाले आफ्नो इच्छा अनुसार फरक फरक तातक्रम राख्न सक्नेछन् । गाडीको पछाडि सिटमा यात्रा गर्ने प्यासेन्जरलाई पनि एसीको हावा राम्रोसँग सर्कुलेट हुन्छ । गाडीमा दिइएको भ्वाइस कमाण्ड फिचरको सहयोगले कुनै पनि बटम नचलाइक नै सनरुफ खोल्न बन्द गर्न, झ्यालको शिशा खोल्न बन्द गर्न तथा म्युजिक सिस्टम कन्ट्रोल गर्न सकिन्छ । यो सिस्टम निकै स्मुथ रहेको हामीले पायौं ।
हामीले यो एसयूभीलाई थापाथलीबाट त्रिपुरेश्वर, जमल, सामाखुसी हुँदै टोखा, डाडागाँउ बुढानिलकण्ठको सबै खाले बाटाहरुमा चलाएका थियौ । सहरी क्षेत्रमा यात्रा गर्दा यसमा रहेको इको मोडमा गाडी चलाउदा निकै आरामको अनुभव भएको थियो भने सहर वाहिरको स्थानमा स्पोर्टस् मोडको मज्जा लिँदा छुट्टै किसिमको थ्रिल अनुभव भएको थियो ।

कम्पनीले यसमा विभिन्न दुई इन्जिन अप्सन दिएको छ । १.५ लिटर नेचुरल एस्पीरेटेड र १.५ लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ । हामीले टेस्ट ड्राइभ गरेको इन्जिनले अधिकतम १४७ हर्स पावर तथा २१० एनएम टर्क प्रदान गर्ने कारण सडकमा दौडाउन तथा आभरटेक गर्न धेरै सहज महशुस भएको थिया ।
त्यसमा पनि २०० एमएमको ग्राउण्ड क्लियरेन्सले पक्की, कच्ची तथा पहाडी उकालो ओरालोहरुमा एकदमै सहज अनुभव भएको थियो । अत्याधुनीक फिचरले भरिपूर्ण यो एसयूभीमा अर्को मन परेको फिचर झ्यालहरु खुल्ला भएपनि बाहिर निस्केर गाडी लक गरेपछि सनरुफदेखि सबै सीसा आफै बन्द हुने प्रविधि हो ।

गाडीमा दिइएको ३४० लिटरको बुट स्पेश गाडीकाे साइज अनुसार अलि सानो होकी जस्तो लाग्छ । तर, भित्र क्यावीनमा पछाडि बस्ने प्यासेन्जरका लागि यस्थेस्ट ठाउँ दिन बुट स्पेश घटाएको हुन सक्छ । तर, धेरै लगेज वा सामान ओसार पसार गर्न परे पछाडिको सिट फोल्ड गर्ने सुविधा दिएको छ । त्यस्तै यसमा रहेको रिभर्स क्यामराको क्वालीटी पनि कार अनुसार त्यति राम्रो लाग्दैन । गाइडेड लाइन तथा रियर बम्परमा रहेको सेन्सरले रिभर्स पार्किङ गर्न सजिलै भएता पनि अगाडि स्कृनको डिस्प्लेको क्वालीटी त्यति राम्रो नदेखिदा अलि खल्लो महशुस हुन्छ । त्यस्तै यसमा दिएको सनरुफको साइज पनि सानो रहेको छ । यही साइजको अन्य प्रतिस्पर्धी मोडलमा प्यानारोमीक सनरुफ पाउन सकिन्छ ।
चीनमा बनेका गाडी एकदमै राम्रो भएता पनि धेरै ब्राण्डहरुले पार्टस् र विक्री पछिको सेवामा मार खाएको उदाहरण हामी कहाँ छ । एक लट गाडी ल्याउने र त्यसपछि ब्राण्ड बनाउन लगानी नगर्ने परिपाटीले धेरै राम्रा चिनियाँ अटोमोवाइल ब्राण्डहरु मरेका छन् । व्यापार व्यवसायमा आफ्नो छुट्टै स्थान बनाउन सफल व्यापारीक घराना सारडा ग्रुप अन्तर्गत एसपीजी अटोमोवाइलले यो विषयमा पक्कै ध्यान दिनेछ ।

सन् १९९७ मा चीनमा स्थापना भएको चेरी अटोमोवाइल कम्पनीले आफ्नो आर एण्ड डी सेन्टरहरु जर्मन, अमेरिका तथा ब्राजिलमा विस्तार गरिसकेको छ । विश्वभरी चेरीको आर एण्ड डी सेन्टरमा ५ हजार ५ सय भन्दा बढी ट्यालेन्टहरुले काम गरिरहेका छन् । अहिले विश्वका ८० भन्दा बढी देशहरुमा चेरीको उपस्थिति रहेको छ । स्थापना पछि विश्वभर ९० लाखभन्दा धेरै चेरीका गाडीहरु विक्री भइसकेका छन् । सन् २०१२ मा चेरीले ब्रिटिस अटोमोवाइल कम्पनी ज्यागुअर ल्याण्डरोभरसँग साझेदारी गरी ‘चेरी जागुवार ल्याण्ड रोभर मोटर्स’ कम्पनी स्थापना गरेको थियो । त्यसपछि कम्पनीले पछाडि फर्केर हेर्नु परेको छैन ।

उत्कृष्ट मोडलसहित पुनः नेपाल आएको चेरीको यात्रामा नयाँ मोडल कोसेढुङ्गा सवित हुने अनुमान लगाउन सकिन्छ ।


