काठमाडौं । विश्व जलवायू परिवर्तनको चपेटामा पर्न थालेसँगै विश्वका १०० भन्दा बढी देशका सरकार प्रमुखहरु स्कटल्याण्डको ग्लास्गोमा कसरी विश्वको जलवायुको परिवर्तन सम्बन्धी समस्या समाधान गर्न सकिन्छ भनेर छलफलमा व्यस्थ रहेका छन् ।
कोप २६ सम्मेलनमा मानव निर्मित साधनहरुले विश्वको तापक्रम बढाउँदै गएको भन्ने विषयमा सबैको एकमत रहेका छन् । यसै सन्दर्भमा विश्वका करिव एक सय देशहरुले तापमान बढाउने मुख्य ग्यास मिथेनलाई ३० प्रतिशतले घटाउने एक सम्झौतामा हस्ताक्षर गरेका छन् । साथै विश्वका सबै नेताहरुले यो दशकको अन्त्यसम्ममा वन विनासलाई रोक्ने विषयमा प्रतिबद्धता जनाएका छन् ।
यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति जो वाइडेनले प्रयोग गर्ने लेमोजीनले उत्सर्जन गर्ने कार्बनडाई अक्साइडको विषयमा मिडियाहरुले रिपोर्ट छापेका छन् । विश्वको सबैभन्दा शक्तिशाली देशका राष्ट्रपतिको मोटरगेडमा २० वटा गाडीको प्रयोग गरिएको थियो । उनको मोटरगेड भन्दा पनि अमेरिकी राष्ट्रपतिको दुईवटा लेमोजीन काडील्याक कम्पनीले बनाएको बीस्टको वारेमा चर्चा चुलिएको छ ।
राष्ट्रपतिको सवारीमा सधै सँग-सँगै चल्ने बीस्ट डिजल इन्जिन प्रयोग गरिएको कार हो । करिब २० हजार पाउण्ड तौल भएको बीस्टले एक लिटर डिजलमा जम्मा ३.४० किलोमिटर गुड्छ । यो हिसावले उनको लेमोजीनले प्रतिकिलोमिटर ५.४३७ पाउण्ड कार्बन उत्पादन गर्छ ।
वाइडेन सम्मेलन स्थलभन्दा ७२ किलोमिटर टाढा एडनवर्गमा बसेका थिए । उनि बसेको होटलबाट एक पटक सम्मेलन स्थलमा पुग्दा वाइडेनको दुईवटा लेमोजीनले मात्र १५६५ पाउण्ड कार्बन उत्सर्जन गरेको थियो ।
सम्मेलन नोभेम्बर १२ सम्म हुने भएकोले उनको कारले मात्र करिब २० हजार पाउण्ड कार्बन उत्सर्जन गर्ने मिडिया रिपोर्टमा उल्लेख छ । उनको यात्रामा प्रयोग भएका सबै माटरगेडले उत्सर्जन गरेको कार्वनडाइअक्साइडको हिसाव गर्ने हो भने करिब २ लाख २० हजार पाउण्ड हुन्छ ।
विश्वको जलबायु परिवर्तनको समस्या कसरी हल गर्ने विषयमा भइरहको सम्मेलनमा यसरी एकै व्यक्तिको सवारीले करिब चार वटा हवाइ जहाजले फाल्ने जति कार्बनडाईअक्साइड फालेकाले यो विषयले मिडियामा चर्चा पाएको हो ।


