काठमाडौं । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ नेक्सन इभीको मूल्य बढाएको छ । कम्पनीले सुरुवाती १०० यूनिटको लागि भन्दै सार्वजनिक गरेको मूल्य अब भने बढाएको हो ।
कम्पनीले विभिन्न ३ भेरियन्टमा उपलब्ध गराएको नेक्सन इभीको माग अनुसार आपूर्ति हुने सकेको छैन । यद्यपी कम्पनीले सुरुवाती समयमा बुकिङ लिएका ग्राहकलाई क्रमिकरुपमा गाडी डिलिभरी दिदै आएको जनाएको छ ।
सिप्रदी ट्रेडिङले नेक्सन इभी इन्ट्री भेरियन्ट एक्सएमको सुरुवाती मूल्य ३५ लाख ९९ हजार तोकेर विक्री सुरु गरेको थियो । अब भने यसलाई किन्न चाहने ग्राहकले ३६ लाख ९९ हजार तिर्नु पर्छ । यसमा कम्पनीले १ लाख रुपैयाँ मूल्य बढाएको हो ।
त्यसैगरी नेक्सन इभीको मिड भेरियन्ट एक्सजेड प्लसको मूल्य ३८ लाख ९९ हजार भएको छ । सुरुमा विक्री सुरु गर्दा यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको थियो । यसमा पनि कम्पनीले १ लाख रुपैयाँ नै मूल्य बढाएको छ ।
नेक्सन इभीको टप भेरियन्ट एक्सजेड प्लस लग्जरी भेरियन्टमा पनि कम्पनीले १ लाख रुपैयाँले मूल्य बढाएको छ । नयाँ बढेको मूल्य अनुसार एक्सजेड प्लस लग्जरी भेरियन्ट किन्न चाहने ग्राहकले ४० लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
टाटा नेक्सन अहिले पनि नेपालमा सर्वाधिक वेटिङ पिरियड भएको इलेक्ट्रीक एसयूभी हो । ३०.२ किलोवाट आवर क्षमताको व्याट्री प्याक रहेको नेक्सनलाई एक पटकको फुल चार्जमा २५० किलोमिटरसम्म गुडाउन सकिन्छ । एआरएआईले गरेको परिक्षणमा भने यसले फुल चार्जमा ३१२ किलोमिटर रेञ्ज प्रदान गर्ने उल्लेख छ ।
टाटाले जीप ट्रोन प्लेटफर्ममा बनाएको नेक्सन इभी उच्च ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रीक एसयूभी हो । यसमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । साथै, ३० किलोवाट क्षमताको चार्जिङ स्टेशन निर्माण गरेर कम्पनीले इलेक्ट्रीक कार विक्री सुरु गरेको हो ।

