काठमाडौं । जापानी कार निर्माता कम्पनी निसानले सन् २०३० सम्ममा २३ नयाँ मोडल बजारमा ल्याउने योजना सहित कन्सेप्ट डिजाइन सार्वजनिक गरेको छ । कम्पनीले यी मध्ये १५ नयाँ मोडलका इलेक्ट्रीक कार बजारमा ल्याउने घोषणा गरेको हो ।
निसानले ४ नयाँ कन्सेप्ट कार सार्वजनिक गर्दै भविष्यमा उत्कृष्ट इलेक्ट्रीक कारहरु बजारमा ल्याउने आफ्नो योजनालाई प्रस्ट पारेको छ । कम्पनीले आफ्नो चार नयाँ कन्सेप्टको नाम पनि निकै रोचक राखेको छ ।
निसानले ल्याएको कन्सेप्ट कारको नाम चिल-आउट, म्याक्स-आउट, सर्फ-आउट र ह्याङ-आउट राखेको छ । कम्पनीको ‘चिल-आउट’ कन्सेप्ट कुपे क्रसओभर डिजाइनमा रहेको छ । यसलाई कम्पनीले ‘सिएमएफ इभी’ प्लेटफर्ममा उत्पादन गर्नेछ । यसमा इलेक्ट्रीक अल ह्वील ड्राइभ सिस्टम जडान हुनेछ । सम्भवत यो नयाँ जेनेरेशन लिफ हुने धेरैले अनुमान गरेका छन् ।
निसानले देखाएको ‘म्याक्स-आउट’ दुई ढोका भएको स्पोर्टी कन्भर्टेवल कार हुनेछ । यो हेर्दा निकै आकर्षक देखिएको छ भने सहजै मानिसको मन र दिमागमा छाप छोड्न सक्ने किसिमको छ ।

कम्पनीले देखाएको ‘सर्फ-आउट’ सिंगल क्याव पीकअप हो । लोमो बडी डिजाइन र मस्कुलर लुक्समा देखिएको पीकअप अफरोड क्षमता युक्त हुने अनुमान गरिएको छ । यसलाई विशेषत अमेरिकी बजारलाई ध्यानमा राखेर ल्याउन लागेको धेरैले अनुमान गरेका छन् ।
निसान ‘ह्याङ-आउट’ क्रसओभर स्टाइलको ह्याचव्याक कार हो । बक्सी डिजाइनमा देखिएको ह्याङ आउटमा स्लाइडिङ डोरको प्रयोग भएको देखिन्छ । ४ सिट क्षमताको यो कार पनि उत्कृष्ट देखिएको छ ।
कम्पनीले देखाएको यी आकर्षक डिजाइनका इलेक्ट्रीक कारले यो दशकमा निसानको योजनालाई प्रतिबिम्बित गरेको अनुमान लागउन सकिन्छ ।


