काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को महासचिवमा सुरेन्द्र उप्रेती निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा उप्रेती निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, कोषाध्यक्षमा मिलन बाबु मल्ल सर्वसम्मत निर्वाचित भएका छन् । महासचिव र कोषध्यक्षमा एक जनाको मात्र उमेदावरी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी, केन्द्रिय उपाध्यक्षतर्फ दुई जनाका लागि भएको निर्वाचनमा राजनबाबु श्रेष्ठ विजयी भएका छन् भने अर्का उपाध्यक्ष पदमै सुनिल रिजाल र निराकर श्रेष्ठले समान मत पाएपछि १/१ वर्ष कार्यकाल बाँड्ने सहमति गरेका छन् ।
प्रदेशतर्फको उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । त्यस्तै, सचिव पदमा विक्रम सिंघानिया र सहकोषध्यक्षमा पंकज अग्रवाल विजयी भएका छन् ।

गत मंसिर २३ गते सम्पन्न निर्वाचनबाट नाडाको अध्यक्षमा ध्रुव थापा र १७ जना केन्दीय कार्यसमिति सदस्य निर्वाचित भएका थिए । त्यसैगरी, प्रदेशबाट ७ जना सदस्य निर्वाचित भएका थिए भने नाडाले आज ३ जना सदस्य मनोनित गरेको थियो । पदाधिकारीका लागि आज भएको निर्वाचनमा नाडाको नयाँ कार्यसमितका २८ जनाले मतदान गरेका थिए ।
आजै नाडाले सदस्यमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा, स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठ र जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाललाई सदस्यमा मनोनित गरेको थियो ।


