काठमाडौं । चीनले पछिल्ला दुई दशक सवारीसाधन उत्पादनमा आफुलाई अग्रणी बनाउँदै आएको छ । विश्वमै सबैभन्दा धेरै सवारीसाधन विक्री हुने देश चीनमा साना र ठूला सवारी उत्पादक कम्पनीको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ ।
चीनले अटोमोवाइल टेक्नोलोजीमा निकै ठूलो फड्को मारिसकेको छ । विश्वका ठूला उत्पादकले चीनमा मोटरसाइकल उत्पादन गर्दै आएका छन् । पियाजीओ, डुकाटी, वेनेली, होन्डा जस्ता ब्राण्डले सबैभन्दा धेरै मोटरसाइकल चीनमा उत्पादन गर्छन् ।
अहिले चिनियाँ मोटरसाइकल ब्राण्ड पनि बढ्दो क्रममा रहेको छ । यस्तोमा विश्वमा आफ्नो प्रभाव जमाउन प्रयासरत चिनियाँ ब्राण्डका मोटरसाइकलको विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।
बाल्ट मोटर्स

चीनको प्रसिद्ध मोटरसाइकल उत्पादक कम्पनी बाल्ट मोटर्स सन् २००४ मा स्थापना भएको हो । स्थापनाको छोटो समयमा नै चीनको क्रुजर मोटरसाइकल सेग्मेन्टमा सबैभन्दा ठूलो बजार हिस्सा यसले ओगटेको छ ।
स्कुटर उत्पादनमा पनि यो कम्पनी अब्बल रहेको छ । आकर्षक फिचर, सहजै उपलब्ध हुने पार्टस्, उच्च गुणस्तरको उत्पादन र सहजै मानिसको पहुँचमा पुग्ने मूल्यको कारण बाल्ट मोटर्सका उत्पादन सफल भएका हुन् ।
अर्बिस्

सन् २००१ मा स्थापना भएको अर्बिस् मोटर्स धेरै शोरुम, सर्भिस नेटवर्क र चिनियाँहरुको विश्वास जित्न सफल भएको ब्राण्ड हो । सबै किसिमका नेकेड, स्पोर्टस्, क्रुजर मोटरसाइकल तथा स्कुटर उत्पादनमा यो कम्पनी अब्बल रहेको छ । अझ यो ब्राण्डमा उत्पादन हुने एड्भेन्चर मोटरसाइकल चीनमा निकै सफल मानिन्छ ।
लिफान

सन् १९९२ मा स्थापना भएको लिफान ब्राण्ड पुरानो कम्पनी हो । कुनै समय लिफानका उत्पादन नेपाली बजारमा पनि उपलब्ध रहेका थिए । मूल्यका हिसावले सस्तो र धेरै रेन्जमा मोटरसाइकल उत्पादन गर्ने हुँदा लिफान चिनियाँ बजारको चर्चित र सफल ब्राण्ड हो ।
जोन्सेन

सन् १९९२ मा स्थापना भएको जोन्सेन कम्पनी भित्र अहिले दुई ब्राण्ड सक्रिय रहेका छन् । जोनसेन र जिप स्टार ब्राण्डमा कम्पनीले मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएको छ । नेपालमा पनि केही समयदेखि जोन्सेन्का उत्पादन आउन सुरु गरेको छ । जोनसेन कम्पनीको मास मार्केट ब्राण्ड हो भने जिप स्टार प्रिमियम ब्राण्ड हो ।
किवे

सन् १९९९ मा स्थापना भएको किवे अहिले चीनको सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक हो । टेक्नीकल र प्रोगामिङमा अब्बल किवेले बनाउने फिचरहरु चीनमा निकै चर्चित रहेका छन् । किवे कम्पनीले बनाउने इन्जिन उत्कृष्ट मानिन्छ । किवेका केही मोडल नेपालमा पनि किन्न सकिन्छ ।
एसवाईएम

एसवाईएम चीनको पुरानो मध्येको एक मोटरसाइकल उत्पादक कम्पनी हो । सन् १९५४ मा स्थापना भएको यो कम्पनीले ताइवानमा आफ्नो मोटरसाइकल उत्पादन गर्छ । आफ्नो फरक डिजाइन र कम मूल्यका कारण यी मोटरसाइक चीनमा धेरै विक्री हुने गरेका छन् । एसवाईएमका उत्पादन कुनै समय नेपाली बजारमा पनि उपलब्ध भएर बन्द भएपनि पुनः यसको विक्री सुरु भएको छ ।
लोन्सिन

सन् १९९३ मा स्थापना भएको लोन्सिन ब्राण्डले सुरुमा विभिन्न पार्टस् उत्पादन गरेको थियो । कम्पनीले धेरै वर्षसम्म बीएमडब्लूको लागि इन्जिन समेत उत्पान गरेको थियो । तर, कम्पनीले सन् २०१२ देखि आफै ठूलो संख्यामा मोटरसाइकल उत्पादन गर्दै आएको छ । अहिले यो कम्पनी चिनको दोस्रो ठूलो मोटरसाइकल उत्पादक कम्पनी हो ।
जेलिङ

सन् १८७५ मा स्थापना भएको जेलिङले सुरुमा आर्मीको लागि हातहतियार उत्पादन गथ्र्यो । सन् १९८७ पछि कम्पनीले मोटरसाइकल उत्पादनमा हात हालेको हो । अहिले विश्वका ९० भन्दा धेरै देशमा जेलिङका उत्पादन विक्री वितरण हुँदै आएका छन् । कुनै समय जेलिङका मोटरसाइकल नेपालमा पनि उपलब्ध थियो । अहिले जेलिङले इको फ्रेन्डली मोटरसाइकल उत्पादन गर्दै आएको छ ।
किङ्ची

जेनान् किङ्ची मोटरसाइकल कम्पनी सन् १९५६ मा स्थापना भएको हो । किङ्ची चीनमा पहिलो पटक स्कुटर उत्पादन गर्ने कम्पनी हो । सुजुकीसँगको संयूक्त लगानीमा स्थापना भएको किङ्ची कम्पनीले अन्य कम्पोनेनट पनि उत्पादन गर्दै आएको छ ।
सिएफ मोटो

सन् १९८९ मा स्थापना भएको सिएफमोटो अहिले चीनको एक प्रमुख मोटरसाइकल उत्पादक हो । कम्पनीले चीनभन्दा बाहिर पनि आफ्नो उत्पादनको बलियो पकड बनाइसकेको छ । नेपालमा पनि सिएफ मोटोका उत्पादन विक्री वितरण हुँदै आएका छन् । आकर्षक मोटरसाइकल उत्पादनमा यो कम्पनी अग्रणी रहेको छ ।


