काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राका चेयरम्यान आनन्द महिन्द्राले हाइपर इलेक्ट्री कारको तस्वीर सार्वजनिक गर्दै उत्पादनमा गएको संकेत दिएका छन् । यसअघि नै यसको विभिन्न स्थानमा परिक्षण भने भइरहेको थियो ।
आनन्द महिन्द्राले आफ्नो ट्वीटर एकाउन्टमा यसको तस्वीर सार्वजनिक गरेसँगै नयाँ हाइपर कारले चर्चा पाएको हो । महिन्द्राको लगानीमा जर्मनीमा सन् २०१८ मा स्थापना भएको पिनेन्फरीना अटोमोवाइलले इलेक्ट्रीक कार उत्पादन गर्नेछ ।
आनन्द महिन्द्राले सार्वजनिक गरेको इलेक्ट्रीक कार ‘वाटीस्टा’ कम्पनीले सन् २०१९ को जेनेभा अटो शोमा सार्वजनिक गरेको हाइपर कार मोडल हो ।
यो हाइपर कार स्पीडको लागि चिनिने कम्पनीले बताएको थियो । यसले सून्यदेखि ३०० किलोमिटर प्रतिघन्टाको स्पीड केबल १२ सेकेन्डमा भेट्ने कम्पनीको दावी छ ।

१२० किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक रहने कारमा १४१६ किलोवाटको मोटर रहने छ । यसमा चारवटा इलेक्ट्रीक मोटर रहने छ । हरेक चक्कामा छुट्टाछुट्टै मोटरले पावर प्रदान गर्ने हुँदा यसको स्पीड निकै तिब्र ३५० किलोमिटर प्रतिघन्टासम्म हुने बताइएको छ ।
फुलचार्जमा ५०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने यो कारलाई कम्पनीले १५० यूनिट मात्रै उत्पादन गर्ने जनाएको छ । कम्पनीले यसलाई यूरोप, अमेरिका र एशियाली बजारमा ५०/५० यूनिटका दरले विक्री गर्ने जनाएको छ । यसको मूल्य करिब २२ लाख डलर अर्थात् नेपाली २६ करोड हाराहारी पर्ने अनुमान गरिएको छ ।

