काठमाडौं । विद्युतीय गाडीको प्रयोग बढ्दै गएको देखिन्छ । चालु आर्थिक वर्षको ५ महिनामा विद्युतीय कार ९१३ यूनिट आयात हुँदा डिजेल कार ९८२ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
एकै वर्ष यति ठूलो परिणाममा विद्युतीय गाडी आयात भएको पहिलो पटक हो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीको आयातमा लगाएको अन्तःशुल्क खारेज गर्दै भन्सार शुल्क पनि कम गरेकाले विद्युतीय गाडीको आयात बढेको हो ।
अहिले नेपाल आएका विद्युतीय गाडी मध्ये १०० किलोवाट क्षमताभन्दा कमको मोटर जडान भएका गाडी ३०८ यूनिट आयात भएको छ भने १०० किलोवाटभन्दा माथिका गाडी ६०५ यूनिट आयात भएको छ ।
अहिले बजारमा उपलब्ध हुन्डाई कोना र आयोनिक, बीवाइडी र टाटाले १०० किलोवाटभन्दा कम क्षमताको मोटर जडान भएको गाडी आयात गर्दै आएका छन् भने एमजी, किया र निसान जस्ता ब्राण्ड १०० किलोवाट भन्दा माथिको क्षमता भएका विद्युतीय गाडी आयात गर्दै आएका छन् ।
चालु आर्थिक वर्षको पहिलो ५ महिनामा पेट्रोल, डिजेल र इलेक्ट्रीकगरी ९ हजार ७१२ यूनिट प्यासेन्जर कार आयात भएको छ ।

