काठमाडौं । सवारीसाधनमा संसारकै धेरै मध्येको कर तिर्नु पर्ने नेपालमा गाडी चढ्ने सपना धेरैले पुरा गर्न सक्दैनन् । भारतमा नेपाली ८ देखि १० लाख मूल्य पर्ने कार नेपालमा २८ देखि ३० लाख रुपैयाँसम्म तिर्नु पर्छ ।
त्यसैले २८ देखि ३० लाख मूल्यमा पाइने कार किन्दा ग्राहकले गाडीमा उपलब्ध फिचर र सुरक्षा फिचरको बारेमा खासै सोधखोज गर्दैनन् ।
अहिले बजारमा डाट्सन, रेनो, मारुती सुजुकी, हुन्डाई र टाटाले ३० लाखसम्ममा किन्न पाइने साना ह्याचव्याक कारहरु विक्री गर्दै आएका छन् ।
कम मूल्यमा फिचर लोडेड कार भारतमा उत्पादन सुरु भएसँगै ती गाडी नेपाल आउने क्रममा रहेका छन् । यस्तै दुई मोडल माघ महिनाबाट नेपालमा विक्री सुरु हुँदैछ ।
अहिले नेपालमा सिजी मोटोकर्पले बुकिङ लिइरहेको मारुती सुजुकीको नयाँ जेनेरेशन सेलेरियो माघको पहिलो हप्ताबाटै विक्री सुरु हुँदैछ ।
त्यस्तै टाटाको माइक्रो एसयूभी पन्च पनि माघ महिनाबाटै विक्री सुरु हुने आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।
फरक सेग्मेन्टमा आउन लागेका यी दुई कारले फरक आवश्यकतालाई पुरा गर्ने छन् । फ्यामली ह्याचव्याक खोज्नेलाई सेलेरियो उत्तम विकल्प बन्न सक्छ भने एसयूभी रुचाउने ग्राहकलाई पन्चले आकर्षित गर्नेछ ।

मूल्यका हिसावले यी दुबै कारको सुरुवाती मूल्यमा धेरै फरक पर्दैन । सेलेरियोको सुरुवाती मूल्य २७ लाख ९९ हजार हुने सिजी मोटोकर्पले जानकारी दिएको छ । तर, टाटा पन्चको मूल्यको विषयमा कुनै जानकारी बाहिर आएको छैन । सम्भबत २८ लाख ५० हजार सुरुवाती मूल्यमा पन्च उपलब्ध हुनेछ ।
मारुती सुजुकी सेलेरियो उच्च माइलेजको लागि चर्चामा रहेको कार हो । कम्पनीको दावीलाई मान्ने हो भने यसमा दिइएको १.० लिटर ड्यूलजेट इन्जिनले प्रतिलिटर २६ किलोमिटर माइलेज प्रदान गर्नेछ ।

टाटा पन्च आकर्षक डिजाइनमा तयार भएको माइक्रो एसयूभी हो । यसमा उपलब्ध धेरै फिचर नेक्सन र अल्ट्रोजबाट प्ररित रहेको छ । यसमा १.२ लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध रहेको छ भने यसले ग्लोवल एनक्यापमा ५ स्टार रेटिङ प्राप्त गरेको छ ।
सुरक्षा र माइलेजको प्रतिस्पर्धामा यी दुई गाडी मध्ये कुनले धेरै सफलता पाउँछ, त्यो हेर्न भने अझै केही महिना कुर्न पर्ने हुन्छ ।


