इलेक्ट्रीक कार बनाउन थप ७५ अर्ब लगानी गर्दै टाटा, व्याट्री पनि आफैँ बनाउने

काठमाडौं । सन् २०२१ को अन्तिम महिना डिसेम्बरमा भारतीय बजारमा टाटा मोटर्सको २ हजार २ सय ५५ यूनिट इलेक्ट्रीक भेहिकल विक्री भएको छ । जुन अघिल्लो वर्षको यही महिनाको तुलनामा ४३९ प्रतिशतले बढि हो ।

टाटा मोटर्सको प्यासेन्जर कार डिसेम्बर महिनामा हालसम्मकै धेरै ३५ हजार २९९ यूनिट विक्री भएको छ । पछिल्लो समय ग्लोवल एनक्याप क्रयास टेष्टमा उत्कृष्ट स्कोर सहित सुरक्षिता प्रमाणित भएका टाटाका कार धेरै ग्राहकले रोज्न थालेका छन् ।

टाटा मोटर्सले भारतमा विद्युतीय कार सेग्मेन्टलाई ‘लिड’ गरिरहेको छ । अहिले टाटाले नेक्सन इभी र टिगोर इभीगरी दुई मोडल विक्री गर्दै आएको छ । साथै कम्पनी थप दुई नयाँ मोडल ल्याउने तयारीमा छ ।

टाटाले यसै वर्ष भित्र आफ्नो प्रिमियम ह्याचव्याक अल्ट्रोज र अर्को वर्ष माइक्रो एसयूभी पन्चलाई पनि इलेक्ट्रीकमा ल्याउने योजना अघि सारेको छ ।

कम्पनीले आफ्नो सफल इभी नेक्सनको यही वर्ष अपडेटेड भर्सन समेत ल्याउने जनाएको छ । अब आउने नेक्सन इभीमा अहिलेको भन्दा ठूलो साइजको व्याट्री रहने छ ।

अहिले टाटाकाे कुल प्यासेन्जर कार बिक्री मध्य  इभीको बजार हिस्सा ५.६ प्रतिशत पुगेको छ । जुन अघिल्ला वर्ष १.८ प्रतिशत मात्र थियो । बजार मागमा आएको बढोत्तरीलाई ध्यानमा राख्दै टाटाले थप ७५ अर्ब लगानी विद्युतीय गाडी उत्पादनमा गर्न लागेको हो ।

भारतमा नै लामो वेटिङ पिरियड रहेको नेक्सन इभी नेपालमा पनि करिब ८०० यूनिट बुकिङ रहेको सिप्रदी ट्रेडिङले जनाएको छ ।

टाटाले विद्युतीय गाडी निर्माणमा आक्रमक योजना सहित छुट्टै विजनेस युनिट ‘टाटा प्यासेन्जर इलेक्ट्रीक मोविलीटी’को स्थापना गरेको छ । साथै कम्पनीले भारतमा नै लिथियम आयोन व्याट्री उत्पादन गर्ने घोषणा गरेको छ ।


Back_to_top