काठमाडौं । अमेरिकी कम्पनी फोर्डले २०२१ सेप्टेम्बर ९ तारिखमा अचानक भारतमा उत्पादन बन्द गर्ने घोषणा गरेसँगै फोर्डका गाडी चढ्दै आएका ग्राहक अलमलमा परे । त्यसको प्रभाव नेपालमा पनि देखियो । नेपालमा फोर्डका गाडी चढ्दै आएका धेरै ग्राहकले आफ्नो गाडीले पाउने सर्भिस कस्तो रहन्छ भन्ने विषयमा चिन्ता जाहेर गरेको पाइयो । सेप्टेम्बर ९ को सो घोषणापछि फोर्ड नेपालले नयाँ इनिङको सुरूआत गर्नुपर्ने भएको छ ।
फोर्डका सीईओ जिमी फर्लीले अचानक भारतीय उत्पादन बन्द गर्ने घोषणा गर्दा नेपालको लागि फोर्डको आधिकारीक विक्रेता जिओ फोर्डसमेत अनभिज्ञ रहेको थियो । यस विषयमा कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, ‘फोर्डले उत्पादन कटौती गर्न लागेको विषय छलफलमा नै थियो । तर, अचानक बन्द गर्ने घोषणा मेरो लागि पनि अनपेक्षित थियो ।’
आफ्ना ग्राहकमा अब के हुन्छ ? भन्ने चिन्ता देख्न थालेका प्रबन्ध निर्देशक गोल्छाले केही दिनपछि पत्रकार सम्मेलन गरेर कम्पनीले फोर्डका नयाँ उत्पादन विक्री वितरण गर्ने र बजारमा रहेका गाडीलाई सर्भिस र स्पेयर पार्टस् सेवा निरन्तर दिने जानकारी दिए । उनको नयाँ लक्ष्य फोर्डले उत्पादन गरेका प्रिमियम कार नेपालमा ल्याउने थियो ।
उनले भारतीय उत्पादन बन्द भए पनि फोर्डले थाइल्याण्ड लगायतका देशमा उत्पादन गर्ने गाडी नेपाल ल्याएर विक्री गर्ने बताए । फोर्ड नेपालमा राम्रोसँग स्थापित भएको ब्राण्ड हो । पछिल्ला ७ वर्षमा मात्रै करिब ८ हजार यूनिटभन्दा धेरै फोर्डका साना गाडी नेपाली सडकमा गुड्दै आएका छन् । यी गाडीलाई उत्कृष्ट सर्भिस दिन जिओ फोर्ड प्रतिबद्ध रहेको गोल्छाको भनाइ छ ।

फोर्ड विश्वकै चर्चित मोटर उत्पादक कम्पनी हो । अमेरिकी समाजमा सबैभन्दा महत्व दिइने ‘कन्जुरमर राइट’को विषयमा फोर्ड जानकार छ । र, उसले विश्वमा नै उपभोक्ताको अधिकार खोस्छ जस्तो लाग्दैन । यही विषयलाई केही दिनअघि फोर्डले भारतमा उपभोक्ताको जानकारीको लागि भन्दै एउटा विज्ञापन संदेश प्रवाह गरेको थियो ।
फोर्ड इन्डियाले जारी गरेको संदेशमा भनिएको छ, ‘हामी विशेषत सहज सर्भिस, पारदर्शी सेवा, एसुरेन्स र सपोर्ट प्रदान गर्न प्रतिबद्ध रहेका छौं ।’ यो विषय नेपालमा पनि लागू हुने जिओ फोर्डले जनाएको छ ।
फोर्डले भारतीय मिडियामा विज्ञापन प्रकाशन गर्दै भनेको छ, ‘यो फोर्डको विज्ञापन मात्र होइन । हाम्रो प्रतिबद्धता पनि हो ।’ साथै, फोर्डले विगतमा जस्तै तपाईंलाई सधैं परिवारको सदस्यको व्यवहार गर्ने विज्ञापन मार्फत उल्लेख गरेको छ । जस्तो सुकै अवस्थामा पनि फोर्ड सधैं तपाईंको साथमा रहने र कुनै पनि अवरोधहरू सम्झौता बिनै पार गर्ने प्रतिबद्धता जाहेर गर्दछ’ संदेशमा भनिएको छ ।
‘फोर्डले भारतमा गरिरहेको विज्ञापन नेपालको हकमा पनि लागू हुने गोल्छा बताउँछन् । उनी भन्छन्, ‘हामीलाई कम्पनीले पहिलेको जस्तै उत्कृष्ट सेवा प्रदान गर्न आवश्यक सबै किसिमका सुविधा प्रदान गर्ने प्रतिबद्धता दिएको छ ।’

सर्भिस निरन्तरतासँगै फोर्डले नेपालमा प्रिमियम सेग्मेन्टमा आफूलाई बलियोसँग उभ्याउन लागेको गोल्छाले बताए । भारतमा बन्ने गाडी आयात रोकिएसँगै थाइल्याण्डमा उत्पादन हुने एसयूभी एभरेष्ट नेपाल आउने क्रममा रहेको उनको भनाइ छ । पहिलादेखि विक्री हुँदै आएका रेन्जर र र्याप्टर पीकअप निरन्तर आउने नै छन् ।
फोर्डको भावी योजना र नेपालमा उपस्थितिको विषयमा गोल्छा भन्छन् ‘फोर्डले विश्वभर मास मार्केट ब्राण्डबाट आफूलाई माथि उकाल्ने तयारी गरेको छ । ब्राजिल र भारत जस्ता साना गाडी धेरै विक्री हुने बजारमा पनि अब प्रिमियम गाडी मात्रै विक्री गर्ने योजना बनाएको कम्पनीले अब प्रिमियम गाडी मात्रै उत्पादन गर्छ, त्यसैले नेपालमा पनि प्रिमियम गाडी मात्रै आयात हुन्छ ।’


