काठमाडौं । रोयल इनफिल्डले दुगड समूहसँगको २० वर्षभन्दा लामो ब्यवसायीक सहकार्य तोड्दै त्रिवेणी समूहलाई आधिकारीक वितरक नियुक्त गरेसँगै प्रिमियम सेग्मेन्टमा बादशाह ब्राण्डको अटो क्षेत्रमा अहिले चर्चा चुलिएको छ ।
स्वभाविक रुपमा आधिकारीक वितरक परिवर्तन भएपछि उक्त ब्राण्डको सोच्ने र ब्राण्डिङ गर्ने तरिका समेत फरक हुन्छ । यसअघि दुगड समूहले गरेकोभन्दा केही पृथक र नयाँ कुरा त्रिबेणी समूहसँग बजारले अपेक्षा गर्ने विषय नै हो । त्यसको लागि कम्पनीले पनि काम अगाडि बढिसकेको जनाएको छ ।
नेपालका मुख्य सहरमा सेल्स, सर्भिस र स्पेयर पार्टस्को उपलब्धता गराउने विषयमा पक्कै पनि कम्पनीले जोडवल लगाउने नै छ । यसका साथै कम मार्जिनमा आक्रमक बजार विस्तारको रणनीति कम्पनीले लिन सक्ने देखिन्छ । नेपालमा मोटरसाइकल एसेम्बलको ढोका खुल्ला भएको समयमा कम्पनीले नेपालमै एसेम्बल गर्ने बाटो खोज्ने सम्भावना पनि त्यतिकै छ ।
यी सबै काम भविष्यमा कम्पनीले गर्ने व्यापारसँग जोडिएर आउने विषय हुन् । तर, तत्काल बजारमा आफ्नो वलियो उपस्थिति देखाउन कम्पनीसँग केही दिनअघि भारतमा विक्री सुरु भएको स्क्याम ४११, नयाँ जेनेरेशन बुलेट, नयाँ जेनेरेशन क्लासिक ३५०, हिमालयन जस्ता मोडल तयार अवस्थामा छन् ।
रोयल इनफिल्डले मे ८ तारिखदेखि नेपालको लागि आधिकारिक विक्रेता त्रिवेणी ग्रुप हुने घोषणा गरिसकेको अवस्थामा कम्पनीले आफ्नो पहिलो शोरुममा नयाँ जेनेरेशन क्लासिक ३५०, हिमालयनको नयाँ भर्सन र स्क्याम ४११ जस्ता मोडल ल्याउने अपेक्षा गर्न सकिन्छ ।
मेटोर ३५० अर्को रोयल इनफिल्डको बलियो उत्पादन हो । सन् २०२१ को मोटरसाइकल अफ दी इयर अवार्ड जित्न सफल भएको मेटोर ३५० पनि नयाँ विक्रेताले प्राथमिकतामा राख्ने मोडलमा पर्न सक्छ ।


