बजाज अटो भारतको निक्कै चर्चित दुई–तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी हो भने, बिक्रीका हिसाबले चौथो ठूलो कम्पनी हो । कुनै जमाना बजाजको स्कुटरले भारतीय बजारमा दबदबा नै कायम गरेको थियो । त्यो समय बजाज स्कुटरको हिस्सा ५० प्रतिशतभन्दा धेरै थियो । तर, २० वर्ष पहिले बजाजले मोटरसाइकलमात्र उत्पादन गर्ने निर्णय लियो ।
बजाजको चेतक स्कुटर बजाजले पुनः उत्पादन गर्ने अनुमान गरिएको छ । बजाजको चेतक स्कुटर हाम्रो बजाज नाराका कारणसमेत चर्चित बनेको थियो । २००९ देखि बजाजेले चेतकको उत्पादन बन्द गरेको थियो ।
बजाजको चेतकदेखि सन्नीसम्मको स्कुटरकाबारेमा यहाँ चर्चा गरिएको छ, जुन धेरैले अहिले पनि सम्झिन्छन् ।
बजाज चेतक

भारतीय दुईपाङ्ग्रे सवारी बजारमा बजाजको चेतकले १९७२ देखि २००८ सम्म दबदबा कायम राखेको थियो । तर, कम्पनीले हालसम्म यो स्कुटर नयाँ इञ्जिनकासाथ बजारमा ल्याएको छैन । बजाजले यो स्कुटरको नाम महाराना प्रताप सिंहको घोडाको नाम चेतकबाटै राखिएको थियो ।
बजाज चेतकमा १ सय ४५ सीसी इञ्जिन थियो, जसले ७.५ बीएचपी पावर र १०.८ एनएम टर्क दिन्थ्यो ।
बजाज प्रिया

बजाजको अर्को चर्चित स्कुटर हो, प्रिया । बजाजको पुनेमा रहेको प्लान्टमा प्रिया स्कुटर १९७५ देखि १९९२ सम्म उत्पादन भएको थियो । यो स्कुटरमा १ सय ५० सीसीको टू–स्ट्रोक इञ्जिन थियो । भेस्पा १५० मा आधारित थियो, बजाज प्रियाको डिजाइन ।
बजाज सन्नी

सार्वजनिक भएको समय ताका बजाज सन्नी निक्कै चर्चित स्कुटरमध्येमा पथ्र्यो । यो स्कुटरमा ५० सीसीको इञ्जिन थियो । बजाज सन्नी त्यो समयमा क्याम्पस जाने विद्यार्थीहरूमाझ पपुलर थियो ।
बजाज सुपर
बजाजको सुपर स्कुटरमा १ सय ४५.५ सीसीको सिंगल सिलिन्डर एयर–कुल्ड इञ्जिन थियो । यो इञ्जिनले ७.१ बीएचपी पावर र १०.८ एनएम टर्क दिन्छ । यो स्कुटर १९७६ मा सार्वजनिक भएको थियो ।
बजाज लेजेन्ड

बजाज लेजेन्ड स्कुटर कम्पनीको पहिलो फोर स्ट्रोक इञ्जिनयुक्त स्कुटर हो । यो स्कुटर स्टाइलिस डिजाइनका लागि चर्चित थियो । यसमा पनि १ सय ४५ सीसीको इञ्जिन थियो, जसले ९ बीएचपी पावर र १०.८ एनएम टर्क दिन्थ्यो ।

