काठमाडौं । सरकारले सबैभन्दा धेरै राजश्व संकलन गर्ने निजी सवारीसाधनको आयात रोकेर राजश्वको मुहान थुनेको छ । कुल आयातको १ प्रतिशतभन्दा केही बढीमात्रै मूल्यको आयात हुने निजी सवारीसाधन सरकारले रोकेको तथ्यांकले देखाएको छ ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा १४ अर्ब १३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको र उक्त आयात वापत भन्सार विन्दुमा नै ३२ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको देखिन्छ ।

सरकारले २५० देखि ३५० प्रतिशतसम्म कर लगाउँदै आएको पेट्रोलियम पदार्थबाट चल्ने कार पूर्णरुपमा असार मसान्तसम्म बन्द गरेसँगै नाडाले तथ्यांक सार्वजनिक गरेको हो ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गएको बैशाख १३ गतेबाट असार मसान्तसम्मको लागि निजी प्रयोजनमा प्रयोग हुने पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात प्रतिबन्ध लगाएको थियो ।

सरकारले विदेशी मुद्रा बाहिर गएको भने पनि अहिले अयात रोकिएको कार चालु आवको ९ महिनामा १२ करोड डलर हाराहारीको मात्रै आयात भएको तथ्यांकमा देखिन्छ । यो भनेको कुल आयातको १ प्रतिशत हाराहारी मात्रै हो ।
यस अवधिमा अति न्यून राजस्व उठ्ने बस्तु सुन २८ अर्व ३९ करोड, मोवाइल फोन सेट ३५ अर्व ६ करोड, चुरोट २ अर्व ४२ करोड, चाँदी १२ अर्व ८३ करोड, पाम आयल ३२ अर्व ४ करोड र तास १९ अर्व ५५ करोड रुपैयाँको आयात भएको देखिन्छ ।

अटोमोबाइल क्षेत्र केबल गाडी आयात गरेर विक्री गर्ने मात्र नभई यसले समग्र अर्थतन्त्रको इको सिस्टमलाई नै चलाउन नाडाले उल्लेख गरेको छ । यसमा साना ग्यारेजदेखि, शोरुम, डिलर, सर्भिस नेटवर्क, स्पेयर पार्टस्, बैंकिङ, बीमा, मोविलिटी, विज्ञापनमा आधारित कम्पनी, सरकार र उपभोक्तालाई सेवा दिइरहेका छन् ।

करिब वार्षिक ९० अर्व राजस्व, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी २ लाख, करिब १ खर्ब लगानीको सर्भिस उद्योग, १ हजारभन्दा बढी डिलर रहेका छन् ।


