काठमाडौं । नेपालमा नयाँ गाडी कहिले आउँछ अहिल्यै भन्न सक्ने अवस्था छैन । सरकारले असार मसान्तसम्म गाडीको लागि आयात प्रक्रिया नै रोकेको कारण नयाँ मोडलको एलसी कहिलेबाट खुल्छ भन्ने एकिन छैन ।

नेपालमा तत्काल नआएपनि केही महिना भित्रै आउने दुई एसयूभी भारतमा भने जुन महिनामा सार्वजनिक हुने भएको छ । भारतीय चर्चित एसयूभी एक्सपर्ट महिन्द्रा र यूरोपियन सुन्दर कार निर्माता सिट्रोनले जुन महिनामा आफ्नो दुई मोडल बजारमा ल्याउने छन् ।
महिन्द्राले आफ्नो सफल एसयूभी स्कर्पियोको नयाँ मोडल बजारमा उतार्दै छ । कम्पनीले जुन २७ तारिखमा यसलाई सार्वजनिक गर्ने योजना बनाएको छ । पहिले विक्री हुँदै आएको स्कर्पियोलाई निरन्तर राख्दै कम्पनीले नयाँ मोडलको रुपमा स्कर्पियो–एन बजारमा ल्याउन लागेको हो ।
मूल्यको हिसावले पहिलेको मोडलभन्दा महंगो हुने यो एसयूभी पहिलो पटक २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर एमहक टर्बो डिजेल इन्जिनमा आउन लागेको हो । भारतमा विक्री सुरु भएको केही महिनापछि यो मोडल नेपाली बजारमा समेत आउने छ ।

अर्को कम मूल्यको एसयूभी सिट्रोन सि थ्री पनि जुन महिनामा मै बजारमा आउने छ । कम्पनीले यसअघि अन्तर्राष्ट्रिय स्पेक देखाएको थियो । तर, जुन महिनामा भने कम्पनीले भारतीय स्पेक लन्च गर्ने जनाएको छ । यो विशेषत निसान म्याग्नाइट, रेनो काइगर र टाटा पन्च जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्न बजारमा आउन लागेको हो ।
अहिले यी दुबै मोडलको कति मूल्य रहन्छ भन्ने एकिन नभएपनि भारतमा सिट्रोन सि थ्रीको मूल्य ५ लाख ५० हजारदेखि ८ लाख भारतीय रुपैयाँ रहने अनुमान गरिएको छ । नयाँ स्कर्पियो एनको मूल्य पनि १२ लाखदेखि २० लाख भारतीय रुपैयाँ भित्रै रहने बताइएको छ ।


