चर्चित भारतीय कार ‘एम्वेस्डर २.०’ दुई वर्षपछि फेरी फर्कने

काठमाडौं । भारतको आइकोनीक अटोमोवाइल ब्राण्ड एम्वेस्डर दुई वर्षपछि फेरि सडकमा फर्कने भएको छ । अब आउँदा एम्वेस्डरको डिजाइनमा थुप्रै मेकओभर हुने इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।

भारतीय कम्पनी हिन्द मोटर फाइनान्सियल कर्पोरेशन अफ इण्डिया र फ्रेच अटोमोवाइल कम्पनी प्यूजोको जोयन्ट भेन्चरमा खडा भएको कम्पनीले नयाँ डिजाइन र इन्जिनमा एम्वेस्डर ल्याउन लागेको हो ।

आइकोनीक कार ब्राण्डको नयाँ मोडल सिके विरला ग्रुप अन्तर्गतको हिन्दुस्तान मोटर्सको चेन्नाई प्लान्टमा बन्ने भएको छ । यो प्लानटमा कुनै समय मित्सुबिसीका कारहरु समेत बन्ने गरेको थियो ।

एम्वेस्डर सन् २०१४ बाट उत्पादन बन्द हो । मागमा आएको उच्च गिरावट र ठूलो घाटा भएसँगै यसको उत्पादन रोकिएको थियो । सन् २०१७ मा हिन्दुस्तान मोटर्सका मालिक सिके विरला ग्रूपले यो ब्राण्ड फ्रेन्च कम्पनीलाई ८० करोड भारतीय रुपैयाँमा विक्री गरेको हो ।

कम्पनीले आधिकारीक रुपमा जानकारी नदिएपनि इकोनोमिक्स टाइम्सका अनुसार नयाँ एम्वेस्डर इलेक्ट्रीक कारको रुपमा बजारमा आउन सक्ने छ । पछिल्लो समयमा भारतीय बजारमा इलेक्ट्रीक कारको उच्च माग रहेको छ । यसको लागि हिन्दुस्तान मोटर्सले यूरोपियन इभी कम्पनीसँग एक एमओयूमा हस्ताक्षर समेत गरिसकेको खवरहरु बाहिर आएका छन् ।


Back_to_top