पेट्रोल महंगो भएसँगै इलेक्ट्रीक स्कुटर किन्ने बढे, सरकारले आज देला थप सुविधा

काठमाडौं । इलेक्ट्रीक स्कुटरको शोरुममा ग्राहकको भिड लाग्न सुरु भएको छ । पेट्रोलको मूल्यमा उच्च वृद्धिल भएसँगै इलेक्ट्रीक स्कुटरमा आर्कषण बढेको हो ।

नेपाली बजारमा ४ पाङ्ग्रे इलेक्ट्रीक कारको चर्चा जुन हिसावले भएको थियो, यही रफ्तारमा स्कुटर तथा मोटरसाइकलको चर्चा भएको थिएन ।

चुनावपछि मात्रै आयल निगमले प्रतिलिटर २० रुपैयाँ पेट्रोलको मूल्य बढाएसँगै इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल खोज्न ग्राहक शोरुम धाउन थालेका छन् ।

सुपर शोकोको लाजिम्पाटमा रहेको सोरुममा भेटिएका २३ वर्षिय रवि ढकालले आफ्नो २०० सीसीको मोटरसाइकलसँग इलेक्ट्रीक स्कुटर एक्सचेन्ज गरे । उनि भन्दै थिए ‘अब पेट्रोल २०० पुग्छ होला, मैले चढेको मोटरसाइकलले २० किलोमिटर पनि माइलेज दिन्न अब इलेक्ट्रीक नै चढ्ने हो ।’

पहिलेको तुलनामा पछिल्लो दुई महिनामा शोरुममा ग्राहकको आवतजावत बढेको सुपर शोको इलेक्ट्रीका कर्मचारी गोकुल राउतले बताए ।

त्यस्तै नक्साल नारायणचौर स्थीत टेल्जीको शोरुममा पुग्दा भिडभाड नै देखिन्थो । सेल्स प्रतिनिधीहरु ग्राहकलाई स्कुटरको बारेमा जानकारी दिन ब्यस्त देखिन्थे । पुतलीसडकमा बेकरी चलाइरहेका एकजना ग्राहकले तीन वटा स्कुटर किन्न सबै डकुमेन्ट तयार गर्दै थिए । केही ग्राहक भने डेलिभरी लिने तयारीमा देखिन्थे ।

‘हाम्रो स्कुटर तीन महिनादेखि सोल्ड आउट थियो । केही दिनअघि मात्र आएका २०२२ मोडलका स्कुटर ग्राहकले झनै मन पराइदिनु भएको छ । अहिले दैनिक ५ देखि १० यूनिट स्कुटर विक्री गर्दै आएका छौं, टेल्जी स्कुटरको आधिकारीक विक्रेता कम्पनी यो मा माइ प्रालिका निर्देशक सन्जिब सिल्पकारले भने ।

त्यस्तै नक्साल भाटभटेनी नजिक रहेको याडिया स्कुटरको शोरुममा समेत ग्राहकको राम्रो उपस्थिती थियो । याडियाका स्कुटरहरु आउन अझै दुई हप्ता जस्तो लाग्ने र ग्राहकले टेष्ट ड्राइभ गरेर बुकिङ गर्दै आएका कम्पनीका कमर्चारीले जानकारी दिए ।

त्यसैगरी एनआईयू, प्योर इभी, लेभ्निङ जस्ता ब्राण्डका शोरुममा ग्राहकको राम्रै उपस्थिति देखिन्थ्यो । आज सरकारले आर्थिक वर्ष २०७९/८० को लागि संसदमा बजेट पेश गर्दैछ । विद्युतीय साधनको प्रयोग बढाउने नीति लिएको सरकारले केही सुविधा घोषणा गर्ने सम्भावना देखिन्छ ।


Back_to_top