काठमाडौं । हुन्डाई मोटर इन्डियाले आफ्नो सफल ‘सब–कम्याक्ट एसयूभी’ भेन्यूको तस्विर सार्वजनिक गरेको छ । आजको १२ दिनपछि बजारमा आउन लागेको भेन्यू फेसलिफ्ट महाराष्ट्रको नम्बर प्लेटमा देखिएको हो ।
कम्पनीले जुन १६ तारिखमा नयाँ भेन्यू सार्वजनिक गर्नेछ । सार्वजनिक भएको तस्विरमा भेन्यूको पछाडि भागमा निकै ठूलो परिमार्जन देख्न सकिन्छ । यसअघिको जेनेरेशन मोडलमा पुरै साधारण डिजाइनमा रहेको भेन्यू फेसलिफ्ट मोडल भने निकै आकर्षक देखिएको छ ।

नयाँ भेन्यूको पछाडि एलइडी टेलल्याम्पको साथै दुबैतर्फको टेललाइटलाई पातलो एलइडी स्ट्रीपले जोडेको छ । यसले यसको पछाडि भाग निकै आकर्षक देखिएको छ । तल बम्परमा सिल्भर कलरको स्कीड प्लेट समेत दिएको देखिन्छ ।
हुन्डाईले भेन्यूलाई पहिलो पटक सन् २०१९ मा बजारमा ल्याएको थियो । पुरा तीन वर्ष विक्रीपछि यसको फेसलिफ्ट मोडल आउन लागेको हो ।
फेसलिफ्ट भेन्यू युवापुस्तालाई लक्षित गर्दै तयार गरिएको छ । नयाँ जेनेरेशन टुसानबाट प्रभावित भएको अगाडिको ग्रिल, ग्रिलमा नयाँ डार्क क्रोमको प्रयोग र रि-डिजाइन हेडल्याम्पले भेन्यूलाई लुक्स प्रदान गरेको छ । साथै, यसमा नयाँ बम्पर र नयाँ डिजाइनको अलोय ह्वील दिइएको छ ।

हुन्डाईले पहिलोपटक भेन्यूमा विभिन्न तीन ड्राइभिङ मोड प्रदान गरेको छ । जसमा चालकले आफ्नो आवश्यकता अनुसार नर्मल, इको र स्पोर्टस् मोड छनोट गर्न सक्नेछन् । साथै, हुन्डाईले सेग्मेन्टमा नै पहिलो ‘होम टु कार’ फङ्सन दिएको छ । यसबाट घरमै बसेर कारको धेरै कुरा कन्ट्रोल गर्न सकिन्छ । साथै, टायर प्रेसर मोनिटर, क्लाइमेट कन्ट्रोल, आइडियल टाइम अर्लट जस्ता फिचर पाउन सकिन्छ ।
यसको टप भेरियन्टमा नयाँ डिजाइनको १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, भेन्टीलेटेड फ्रन्ट सिट, बोसको साउण्ड सिस्टम, एम्बीयन्ट लाइटका साथै ३६० डिग्री क्यामरा समेत उपलब्ध हुनेछ ।


