काठमाडौं । केटीएम मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले २५० सीसी क्षमताको मोटरसाइकलमा ८० हजार रुपैयाँ मूल्य वृद्धि गरेको छ । कम्पनीले केटीएम ड्यूक २५० को मूल्यमा ८० हजार रुपैयाँले वृद्धि गरेको हो ।
त्यस्तै कम्पनीले केटीएम २०० ड्यूकको मूल्य भने २० हजार रुपैयाँले वृद्धि गरेको हो । केही समय अगाडि कम्पनीले केटीएम २०० ड्यूकको मूल्य ४० हजार रुपैयाँ घटाएको थियो ।
यसअघि केटीएम ड्यूक २५० को मूल्य ७ लाख ४ हजार रुपैयाँ रहेको थियो । हाल यो मोटरसाइकलको मूल्यमा ८० हजार रुपैयाँले बढेर ७ लाख ८४ हजार रुपैयाँ र २०० ड्यूकको मूल्य ५ लाख ६४ हजार रुपैयाँ निर्धारण गरेको हो । यसको मूल्य यसअघि ५ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
बजेटमा भएको भन्सार दरमा बृद्धिका कारण धमाधम मोटरसाइकलको मूल्य वृद्धि भइरहेको छ । सरकारले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा भन्सार वृद्धि गरेको कारण मोटरसाइकलको मूल्य अझै बढ्ने देखिन्छ ।
अष्ट्रियन प्रिमियम ब्राण्ड केटीएम मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्दले केटीएम २५० र २०० ड्यूकको मूल्य वृद्धि गरेको छ भने अन्य मोडलमा मूल्य यथावत नै राखेको छ ।
केटीएम ३९० ड्यूकको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ भने आरसी ३९० को मूल्य ९ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ । यसका साथै एड्भेन्चर सिरिजमा एड्भेन्चर २५० को मूल्य ८ लाख १९ हजार ९०० रुपैयाँ र एड्भेन्चर ३९० को मूल्य १० लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

