दशैंमा एमजीको जेडएस इलेक्ट्रीक कार किन्न पाइने

काठमाडौं । नेपालको सर्वाधिक सफल इलेक्ट्रीक कार जेडएस ईभी दशैंसम्ममा नेपाल आउने भएको छ । यसअघि चीनमा कोभिड १९ को संक्रमण फैलिएको भन्दै जेडएस इभीको आयात ठप्प भएको थियो ।

पारामाउन्ट मोटर्सले फागुन १५ गते एक कार्यक्रम आयोजना गरी जेडएस ईभीको फेसलिफ्ट मोडल सार्वजनिक गरेको थियो । सार्वजनिकसँगै बुकिङ खुल्ला गरेको कम्पनीले ४ दिनमा नै बुकिङ बन्द गरेको थियो । त्यति वेला करिब ५ सय यूनिट जेडएस ईभी ग्राहकले बुकिङ गरेका थिए । ग्राहकले बुकिङ गरेको गाडी नै नआउँदै सरकारले कर वृद्धि गरेसँगै यसको आयात अनिश्चित बनेको थियो ।

‘अब जेडएस इभी नेपाल आउने छ । दशैंसम्ममा हामी गाडी नेपाल ल्याउने छौं । अहिले पनि धेरै बुकिङ गर्नु भएको ग्राहकले बुकिङ कायम राख्नु भएको छ । त्यसैले जस्तो सुकै अवस्थामा पनि दशैंअघि नै गाडी ल्याउने तयारी भएको छ’, पारामाउन्ट मोटर्स स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले फागुनमा सार्वजनिक गरेको जेडएस ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको थियो । यसअघिको तुलनामा ६ किलोवाट बढीको इन्ट्री मोडल र २८ किलोवाट क्षमता बढीको लङ रेन्ज मोडल बजारमा उतारेको थियो ।

नयाँ जेडएस इभीको ब्याट्री ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवरको रहेको छ । डब्लूएलटीपीको परिक्षणमा ५१ किलोवाट आवर क्षमताको ब्याट्रीले सिंगल चार्जमा ३ सय १९ किलोमिटर र ७२ किलोवाट आवर क्षमताको ब्याट्रीले सिंगल चार्जमा ४ सय ४० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ ।

नयाँ जेडएस ईभी फेसलिफ्टमा अगाडिको फेसियादेखि अलोय ह्वीलसम्म व्यापक परिवर्तन गरिएको छ । साथै, कम्पनीले यसको ड्यासवोर्डमा पनि परिमार्जन गरेको छ ।

रिडिजाइन बम्पर, नयाँ हेडल्याम्प र टेलल्याम्प, बडी कलरको फ्रन्ट ग्रिल, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, आई–स्मार्ट कनेक्ट कार टेक्नोलोजी जस्ता फिचर यसमा दिइएको छ ।

पारामाउन्ट मोटर्सले यसअघि लाग्दै आएको १५ प्रतिशत भन्सार कर अनुसार स्टायडर्ड मोडलको ५१ लाख ९९ हजार र लङ रेन्ज भर्सनको ५९ लाख ९९ हजार तोकेर बुकिङ लिएको थियो । तर, सरकारले ल्याएको नयाँ बजेट अनुसार यी गाडीमा कर थपिएको छ । थपएिको कर अनुसार जेडएस ईभीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत नै अन्तःशुल्क लाग्ने छ । यसअघि अन्तःशुल्क लाग्ने थिएन ।

अब नयाँ परिस्थितिमा जेडएस ईभीको मूल्य कति हुन्छ भन्ने विषयमा केही जानकारी प्राप्त भएको छैन ।


Back_to_top