काठमाडौं । संसारमै विद्युतीय कारको विकासमा यूरोपियन देशको भूमिका महत्वपूर्ण रहेको छ । अहिले पनि ईभीको सबैभन्दा ठूलो बजार हिस्सा यूरोपमा नै छ ।
यूरोपमा गाडी विक्री गर्ने हरेक कम्पनीले विद्युतीय कारको विकास, उत्पादन र विक्री वितरणमा काम गर्दै आएका छन् । यूरोपियन बजारमा साना सहर केन्द्रित कार विक्री गर्दै आएको हुन्डाई मोटर्सले अब साना इलेक्ट्रीक कारतर्फ आफ्नो पाहिला अगाडि बढाएका छन् ।
कम्पनीले यूरोजमा विक्री गर्दै आएको आई १० र आई २० जस्ता मोडलको विकल्पमा नयाँ विद्युतीय कार ल्याउने घोषणा गरेको हो । सन् २०२२ को पहिलो ६ महिनामा हुन्डाईले यूरोपमा कुल विक्री भएको कारमा २० प्रतिशत इलेक्ट्रीक मोडल विक्री भएसँगै साना कारमा केन्द्रित गर्न लागेको हो । अहिले कम्पनीले आयोनीक ५ र कोना इलेक्ट्रीक दुई मोडल मात्रै विक्री गर्दै आएको छ ।
साना र बजेट कार उत्पादन र विकासमा अब्बल मानिएको हुन्डाईले सन् २०२१ मा कोरियन बजारमा सार्वजनिक गरेको क्यास्पर माइक्रो एसयूभी अहिलेसम्म अन्य बजारमा उपलब्ध भएको छैन । कम्पनीले चाँडै क्यास्पर भारत र अन्य देशमा विक्री गर्ने योजना बनाएको छ । यूरोपियन बजारमा क्यास्पर इलेक्ट्रीक भर्सनमा उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।
त्यसैगरी ह्याचव्याक सेग्मेन्टमा पनि हुन्डाईले नयाँ इलेक्ट्रीक कार ल्याउने अनुमान सुरु भएको छ । विशेषगरी यूरोप र एसियाली देशको मागलाई ध्यानमा राख्दै हुन्डाईले आई वा आई २० को क्रसओभर इलेक्ट्रीक मोडल ल्याउने छ । हुन्डाईले बजारमा ल्याउने यी दुबै साना विद्युतीय कार इ–जीएमपी प्लेटफर्ममा आधारित रहने छ । हुन्डाईले ल्याउने साना एसयूभी २०२३ को अन्तिमदेखि बजारमा आउने अनुमान गरिएको छ ।

