काठमाडौं । भारतीय बजारमा उत्पादन भएको पहिलो इलेक्ट्रीक एसयूभी नेक्सनसँग प्रतिस्पर्धा गर्ने एक्सयूभी ४०० ईभी आगामी सेप्टेम्बर ६ तारिखमा बजारमा ल्याउने भएको छ ।
भारतमा ईभी उत्पादनमा अग्रणी भूमिका निर्वाह गरेपनि महिन्द्रले समय सापेक्षा उत्पादन ल्याउन नसक्दा टाटाले बाजी मारिसकेको छ । टाटा नेक्सन अहिले भारत र नेपालमा सर्वाधिक विक्री हुने ईभी हो ।
अब भने महिन्द्राले धेरै मोडलको कन्सेप्ट सार्वजनिक गरेर आफु ईभी उत्पादनमा आक्रमक बन्ने संदेश दिएको छ । साथै, एक्सयूभी ४०० पछि केयूभी १०० पनि बजारमा ल्याउने भएको हो ।
महिन्द्राले ल्याउन लागेको एक्सयूभी ४०० अहिले चल्तीमा रहेको एक्सयूभी ३००बाट प्रेरित मोडल हो । तर, कम्पनीले एक्सयूभी ३०० कोभन्दा करिब २०० एमएम लामो साइजमा एक्सयूभी ४०० आउने अनुमान गरिएको छ । लम्बाई बढेता पनि यसको चौडाई, उचाई र ह्वीलवेस भने एक्सयूभी ३०० कै समान हुने अनुमान गरिएको छ ।
महिन्द्राको ‘एक्स१०० प्लेटफर्म’मा आधारित नयाँ ईभीमा कोरियन कम्पनी एलजीकेमको हाई डेन्सीटी एनएमसी ब्याट्री प्रयोग भएको छ । एनएमसी ब्याट्री ज्यादा पावर र रेन्जको लागि परिचित छ । त्यसैले एक्सयूभी ४०० लाई एक पटक चार्ज गर्दा ४०० किलोमिटरभन्दा बढी गुडाउन सकिने रिपोर्ट सार्वजनिक भएका छन् ।
महिन्द्राले सन् २०२० को दिल्ली अटो शोमै यसको कन्सेप्ट देखाएको थियो । एक्सयूभी ४०० मा क्लोज अफ फ्रन्ट ग्रिल, इन्ट्रीग्रेटेड डिआरएलका साथै नयाँ डिजाइनको हेडलाइट हुनेछ । रियरमा पनि रिभाइज्ड टेलगेट र नयाँ डिजाइनको टेलल्याम्प क्लस्टर हुनेछ ।
एक्सयूभी ४०० इभीमा एड्रेनो एक्स कनेक्टेड कार एआई टेक्नलोजीसाथ ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहनेछ ।
यो एसयूभीमा एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) को सुविधा समेत हुने सम्भावना छ । एक्सयूभी ४०० दुई फरक रेन्जसहितको भेरियन्टमा लन्च हुने छ ।
रेगुलर भर्सनले नेक्सन ईभीलाई टक्कर दिनेछ भने अर्को लामो लङ रेन्ज भएकोले एमजी जेडएस र हुन्डाई कोना ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

