इलेक्ट्रीक स्कुटरमा आगलागी भएमा उत्पादक कम्पनीले जरिवाना तिर्नुपर्ने

फाइल तस्बीर

काठमाडौं । भारतमा लगातार इलेक्ट्रीक स्कुटरमा आगलागीका घटना बढ्दै गएपछि सरकारले यसको छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ । पहिलो चरणको अनुसन्धानले ब्याट्रीको समस्या रहेको औंल्याएको छ ।

छानबिन समितिले तयार पारेको प्रतिवेदनमा खराव ब्याट्रीका कारण स्कुटरमा आगलागी हुने गरेको उल्लेख गरेको छ । यसै प्रतिवेदनलाई आधार बनाएर केन्द्र सरकारले इलेक्ट्रीक स्कुटरमा असुरक्षित ब्याट्री  प्रयोग गरेको आरोपमा जरिवाना गर्ने योजना बनाएको छ।

एक मिडिया रिपोर्टका अनुसार जुनजुन कम्पनीका इलेक्ट्रीक स्कुटरमा आगलागीको घटना घटेको छ ती कम्पनीहरूलाई जरिवाना लगाउने तयारीमा सरकार रहेको उल्लेख गरिएको छ ।

उक्त रिपोर्टका अनुसार इलेक्ट्रीक सवारी साधन भर्खरै बढ्दो क्रममा रहेको कारण गम्भीर प्रवृतिको कारबाही नगरी सामान्य जरिवाना लगाउने तयारीमा रहेकोसमेत उल्लेख गरेको छ ।

आगामी दिनमा इलेक्ट्रीक सवारी साधनमा आगलागीको घटाना घटेमा कम्पनी जिम्मेवार हुने तथा उत्पादन कम्पनीले जरिवाना तिर्नुपर्ने नियम लागइने भएको छ ।

पछिल्लो केही समय यता भारतमा लगातार इलेक्ट्रीक स्कुटरमा आगलागीको घटना बाहिर आइरहेको छ । उक्त घटनामा ६ जनाले ज्यान गुमाएका छन् । हालै मात्र टाटा नेक्सन कारमा समेत आगलागी भएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।


Back_to_top