व्यापारमा भारी गिरावटपछि ओलाले शोरुम विस्तार गर्दै, २०० बढी शोरुम खोल्ने

काठमाडौं । अग्रणी इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ओलाले भारतभर शोरुम स्थापना गर्ने भएको छ । कम्पनीले हालसम्म अनलाइन मार्फत स्कुटर विक्री गर्दै आएको थियो ।

भारतीय बजारमा इलेक्ट्रीक सवारी साधनको माग बढ्दै जानु र ओलाको व्यापारमा गिरावट आएका कारण ओलाले शोरुम तथा डिलर विस्तारको काम गर्ने निर्णय गरेको हो ।

हालसम्म ओलाका स्कुटरहरू अनलाईनमा मात्र उपलब्ध रहेको छ भने कम्पनीले आफ्नो व्यापार वृद्धि गर्ने उद्देश्यले डिलर नेटर्वक बढाउने तयारी थालेको छ ।

गत महिनाको विक्रीमा ओलालाई टीभीएस इलेक्ट्रीकले समेत पछि पारेको थियो । कम्पनीका सीईओ भाविश अग्रवालका अनुसार आगामी वर्षसम्ममा देशभर २०० भन्दा धेरै शोरुम स्थापना हुनेछ ।

कम्पनीले हालसम्म २० वटा एक्सपेरियन्स सेन्टको स्थापना गरिसकेको पनि उनले बताए । शोरुम स्थापनापछि ग्राहकले ओला स्कुटरको ज्यादा अनुभव लिन सक्ने अग्रवालले बताए ।
उनले ट्वीटरमार्फत शोरुमको तस्वीर समेत सार्वजनिक गरेका छन् । ओलाले हालसम्म दुई मोडलका स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले १ लाख र १ लाख ४० हजार भारतीय रुपैयाँमा एक्स शोरुम मूल्यमा एस वान र एस वान प्रो विक्री गर्दै आएको छ ।

ओलाले नेपाली बजारमा समेत प्रवेश गरेको छ । दुई दिनपछि सुरू हुने नाडा ईभी शोमा ओलाका स्कुटर देख्न पाइने छ । सीजी मोटर्सले ओलाका स्कुटर नेपाल भित्र्याएको हो ।


Back_to_top