काठमाडौं । कुनै समय नेपालमा राम्रो संख्यामा विक्री हुने कावासाकी अहिले नेपालमा विक्री हुँदैन । नेपालमा अहिले विक्री नभएपनि भारतमा भने कम्पनीले कम मूल्यको रेट्रो डिजाइनमा बनेको डब्ल्यू १७५ मोडलको विक्री सुरु गरेको हो ।
पछिल्लो समय कावासाकीले दुई वा दुईभन्दा धेरै सिलिन्डर भएका मोटरासइकल मात्र उत्पादन गर्न थालेपछि यसको आयात नेपालमा बन्द भएको थियो ।
कम्पनी सार्वजनिक गरेको नयाँ मोटरसाइकलको मूल्य १ लाख ४७ हजार भारतीय रुपैयाँ रहेकाे छ । कावासाकी डब्ल्यु १७५ मा सिंगल सिलिन्डर इन्जिन प्रयोग भएको छ ।
कावासाकी डब्ल्यू १७५ मा १७७ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड, ४ स्ट्रोक, २ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा अधिकतम १२.८ बीएच पावर तथा ६००० आरपीएममा अधिकतम १३.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।
जापानी ब्राण्डले यो मोटरसाइकललाई मात्र १३५ केजी तौलमा तयार पारेको छ । यो रेट्रो बाइक सेग्मेन्टमा नै सबैभन्दा कम तौल भएको मोटरसाइकल रहेको छ ।
यो मोटरसाइकलको फ्रन्टमा ११० एमएम ट्राभल टेलिस्कोपिक सस्पेन्सन तथा रियरमा डबल सक एव्जर्भर दिइएको छ । यसमा फ्रन्टमा डबल पिस्टन क्यालिपर डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक पाउन सकिन्छ ।
कम्पनीले यसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ । त्यस्तै, यसमा एबीएस सुरक्षा फिचर, ट्रीप मिटर, हेलोजिन हेडल्याम्प, वार्निग लाइट जस्ता फिचर यो मोटरसाइकलमा उपलब्ध छन् ।
यसअघि नेपालमा गोल्छा समुहले कावासाकी मोटरसाइकल विक्री गरेको थियो । अहिले गोल्छा समूह बजाजको आधिकारीक विक्रेता हो ।


