काठमाडौं । गत महिना भारतीय बजारमा सार्वजनिक भएको हिरो एक्सपल्स २०० को र्याली एडिशनको डेलिभरी सुरू भएको छ । कम्पनीले पहिलो महिना बुकिङ भएका मोटरसाइकलहरू डेलिभरी गर्न सुरू गरेको हो ।
कम्पनीले यसअघि एसोशरिजका रूपमा ल्याएको किटलाई अहिले नयाँ मोटरसाइकलको रूपमा नै ल्याएको हो ।
हिरो मोटोकर्पले एक्सपल्स २०० फोर भी र्याली किट किन्नको लागि मूल्य ४६ हजार भारतीय रुपैयाँ तोकेको थियो । तर, र्याली एडिशन नै किन्नेले भने १ लाख ५२ हजार भारतीय तिर्नुपर्ने हुन्छ ।
नयाँ र्याली किट भेरियन्ट रेगुलर मोटरसाइकलको तुलनामा लम्बाइ २३ एमएम, ५० एमएम उचाइ र ९ एमएम लामो ह्वीलबेस रहने छ । यसमा रेगुलर मोडलकोभन्दा लामो ट्राभल सस्पेन्सन समेत पाउन सकिन्छ ।
र्याली किट भेरियन्टमा एडजष्टेवल फ्रन्ट तथा रियर सस्पेन्सन, ह्यान्डलबार रेजर, नयाँ स्ट्याण्ड, नयाँ गियर लिभर, र्याली सिट, तथा अफरोड टायर रहेको छ ।
नेपाली बजारमा एक्सपल्स २०० फोर भीको माग उच्च रहेको छ । केही समय अगाडि एनजीएम हिरोले एक्सपल्स २०० को र्याली किट सार्वजनिक गरेको थियो । कम्पनीले उक्त र्याली किटको विक्री भने सुरू गरेको छैन ।
नेपालमा मोटरसाइकल मोडिफाइड गर्नु गैरकानुनी मानिने भएका कारण र्याली किट विक्री हुने सम्भावना छैन । तर, फ्याक्ट्री फिट भएको एक्सपल्स २०० फोर भी र्याली एडिशन भने नेपाल आउन सक्नेछ ।


