काठमाडौं । मलाई चिन्ने, साथीहरूको संगतमा रहेका र शोसल मिडियामा जोडिनु भएका धेरै मानिसले सोध्ने एउटै प्रश्न हो, ‘ईभी किनौँ कि आइसी (इन्टरनल कम्बस्चन) इन्जिन भएको गाडी किनौं ?’ जसरी प्रश्न आउँछ, त्यसरी झट्टै उत्तर दिन सक्ने अवस्थामा म अहिले छैन ।
विश्वका ठूला कार निर्माता कम्पनीहरू सन् २०२५, २७ र ३० सम्ममा यस्ता गाडी ल्याउँछु भनेर कन्सेप्ट देखाएर बसेका छन् । तर, तत्काल मास स्केलमा उत्पादन गरिरहेका छैनन् । यसले स्टार्टअप कम्पनी बाहेक ठूला निर्माता अझै अन्योलमा रहेको देखाउँछ ।
मलाई ईभी कि आइसी इन्जिन भएका कार कुन किनौ भनेर सोध्नेलाई मेरो उत्तर ईभी भन्ने नै हुन्छ । किन भने ईभी आधुनिक ड्राइभिङको उत्कृष्ट नमूना हो । प्रदूषणरहीत, नेपाल कै बिजुली प्रयोग हुने र चार्ज गर्न पनि आफ्नो घरबाट बाहिर लान नपर्ने भएको कारण हाम्रो आवश्यकता ईभीले पूरा गर्छ ।
तर, मैले नेपालमा उपलब्ध अधिकांश ईभी चलाइसकेपछि भने ईभीको प्रयोगमा धेरै जटिलता छैनन् भन्ने मान्यता बनाएको छु । तत्काल नेपालमा उपलब्ध ईभीको संख्या धेरै छैनन् । थोरै संख्यामा भए पनि सन् २०१० देखि नेपालमा इलेक्ट्रीक कारको विक्री सुरू भएको थियो । अहिले पनि १/२ वटा त्यति बेलाको ईभी सडकमा गुडेको देखिन्छ । त्यसपछि आएका ईभीमा पनि कुनै सिरियस समस्या देखिएका छैनन् । यसले ईभीको युग सुरू भएको देखाउँछ । र, म प्रश्न गर्ने हरेक मानिसलाई यही विषय बुझाउने केशिस गरिरहेको छु ।
तर, मलाई एउटा सानो कार किन्नु पर्यो भनेर सोध्ने अधिकांश मानिस पहिलो कार किन्ने हुन्छन् । पहिलो कार किनेपछि उनीहरूलाई उपत्यका बाहिर पनि धेरै स्थानमा घुम्नु पर्ने हुन्छ । साथै, उनीहरूले आफ्नो दैनिक कामको लागि पनि त्यही साधन प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरूको प्रश्न आउने बित्तिकै मलाई उत्तर दिन कठिन हुन्छ ।

त्यसैले प्रश्न गर्ने मेरा साथी जस्तै तमाम पाठकको मनमा उब्जने विषयलाई सेमेटेर यहाँ विवेचना गर्नु युक्तिसँगत होला । विद्युतीय कारमा सबैभन्दा पहिला र धेरैले सोध्ने विषय ‘यसले उकालोमा तान्छ वा तान्दैन’ भन्ने हो । आज बिहान पनि मेरो एउटा मित्रले फोन गरेर बजारमा आएका साना ईभीले उकालोमा तान्छ कि तान्दैन भनेर सोध्दै हुनुहन्थ्यो । ईभीले उकालोमा निकै राम्रो तान्छ । यसमा इन्स्ट्यान्ट टर्क हुने भएकोले उकालोमा समस्या पर्दैन । मैले तुरुन्तै उनलाई उत्तर दिएको थिए । यसका बाबजूद पनि यहाँ भन्नै पर्ने हुन्छ ईभी किन्दा मोटर पावर र टर्क हेरेर किन्ने गर्नुपर्छ ।
दोस्रो विषय रेन्जको हो । सानो ब्याट्री भएको कारले थोरै रेन्ज दिन्छ । ठूलो ब्याट्री भएको कारले धेरै । यदि, सानो ब्याट्रीले पनि २५० देखि ३०० किमी रेन्ज दिन्छ भनेर तपाईंंलाई भनियो भने त्यो नपत्याउनु होला । उकालो बाटोमा प्रति १०० किलोमिटर २४ किलोवाट आवरसम्म ब्याट्री खर्च हुन्छ । त्यसैले २० किलोवाट आवर क्षमताको मोटर भएको गाडीले २५० किलोमिटर रेन्ज दिनै सक्दैन । यसलाई सहज तरिकाले बुझ्न साना ईभी विक्री गर्ने कम्पनीको दाबीमा ४० प्रतिशत कम रेन्ज आउँछ भनेर बुझ्नु पर्छ ।
तपाईंं कहिले काहीँ उपत्यका बाहिर यात्रा गर्नु हुन्छ भने ३० किलोवाट आवरभन्दा कम क्षमताका ब्याट्री भएका ईभी नकिन्दा नै उपयुक्त हुन्छ । यदि तपाईंंसँग अर्को वैकल्पिक गाडी छ र सानो ईभी उपत्यकामा मात्रै चढ्ने हो भने मिनि ईभी उपयुक्त हुन्छ ।

तेस्रो, विषय सर्भिस र मेन्टिनेन्स हो । ईभी सर्भिस र मेन्टिनेन्स गर्न सबैभन्दा सजिलो टेक्नोलोजीमा पर्छ । ब्याट्री र मोटरको ढिक्का बाहेक यसमा धेरै कुरा हुन्न । तथापि, साना साना समस्याले पनि गाडी बस्न सक्छ । यदि, तपाईंंले ईभी किन्ने निर्णय गर्नुभयो भने तपाईंले गाडी किन्न खोजेको कम्पनीले कसरी सेवा दिन्छ भन्ने एकीन गर्नु होला । अन्यथा गाडी किनेको केही दिनमा नै थन्काउनुपर्ने हुन सक्छ ।
चौथो, ईभीको मूल्य हो । विश्व बजारमा ईभी नयाँ यातायातको साधन हो भन्दा फरक पर्दैन । नयाँ टेक्नोलोजी, सीमित उत्पादन र ग्राहकको बढ्दो आकर्षणले सामान्य आइसी इन्जिनको तुलनामा ३०० प्रतिशतसम्म ईभीको उत्पादन लागत बढी छ । त्यसैले ईभीको मूल्य धेरै छ । तर, नेपाल सरकारले ईभीमा कर छुट दिएको कारण नेपाली बजारमा आईसीको तुलनामा ईभी सस्तोमा किन्न पाइन्छ । टेक्नोलोजी अनुसारको मूल्य हेर्ने हो भने नेपालमा ईभी सस्तो छ ।
अन्त्यमा, मलाई ईभी कि आइसी इन्जिन भएका कार कुन किनौ भनेर सोध्नेलाई मेरो उत्तर ईभी भन्ने नै हुन्छ । किन भने ईभी आधुनिक ड्राइभिङको उत्कृष्ट नमूना हो । प्रदूषणरहीत, नेपाल कै बिजुली प्रयोग हुने र चार्ज गर्न पनि आफ्नो घरबाट बाहिर लान नपर्ने भएको कारण हाम्रो आवश्यकता ईभीले पूरा गर्छ । यद्यपि, फोर ह्वील ड्राइभ सिस्टम भएको पब्लिक ट्रान्सपोर्ट चाहिने भौगोलिक बनावट भएको देशमा पूर्णतः विद्युतीय गाडी मात्रै किन्नु पर्छ भनेर सल्लाह दिन सकिने दिन आएको छैन ।
आशा गरौं अहिले जसरी नेपालको विकट भू–भागमा कम्बस्चन इन्जिन भएका गाडीले दिइरहेको सेवा ईभीले दिनेछ । साथै, मूल्य पनि अहिलेको आइसी इन्जिन सरह नै हुनेछ । त्यो दिन म हरेक साथीलाई ढुक्कले भन्न सक्नेछु ‘ईभी किन्नुस्’ ।


