प्रतिस्पर्धी माथि भारी पर्दै नेक्सन, यी हुन् अक्टोबरमा धेरै विक्री भएका ५ मोडल

काठमाडौं । नेपालमा विगत ७ महिनादेखि गाडी आयात बन्द भएको छ । यसबीचमा धेरै कम्पनीले भारतमा नयाँ मोडल ल्याएपनि अहिलेसम्म नेपाल आउन पाएको छैन ।

भारतमा ४ मिटरभन्दा साना एसयूभीको बढ्दो क्रेजको कारण यी मोडलमा छिटो छिटो फिचर थपघट गर्ने गरिएको छ । सन् २०२२ लागेसँगै विक्रीमा तिब्र वृद्धि हासिल गरिरहेको नेक्सन सेग्मेन्टकै लिडर बनिरहेको छ ।

यो १० महिनामा नेक्सनलाई एक पटक मारूती सुजुकी ब्रेजा र एक पटक हुन्डाई भेन्यूले उछिनेको थियो । बाँकी अवधि नेक्सन प्रतिस्पर्धी माथि भारी पर्दै आएको छ ।

नेपालमा गाडी आयात नै रोकिएको अवस्थाको कारण यहाँ कसले कति गाडी विक्री गरे भन्ने तथ्यांकमा चासो घट्दै गएको छ । तर, अक्टोबर महिनामा भारतीय बजारमा विक्री भएको लोभलाग्दो तथ्यांकमा सबैभन्दा धेरै विक्री भएका ४ मिटरभन्दा साना ५ मोडलका एसयूभीको बारेमा यहाँ चर्चा गरिएको छ ।

टाटा नेक्सन आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै ४ हजार यूनिटले अगाडि रहँदा उसको विक्री आँकडालाई मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यूले पच्छाई रहेका छन् । अक्टोबर महिनामा १३ हजार ७६७ यूनिट टाटा नेक्सन फ्याक्ट्रीबाट डिलरकोमा डिस्प्याच हुँदा मारुती सुजुकीले ९ हजार ९४१ यूनिट ब्रेजा पठाएको छ ।

दोस्रो स्थानको ब्रेजालाई हुन्डाई भेन्यूले कडा टक्कर दिइरहेको छ । यो एक महिनाको अवधिमा हुन्डाईले ९ हजार ५८५ यूनिट भेन्यू विक्री गरेको छ । त्यसैगरी किया सोनट चौथो स्थानमा छ भने सूचीको पाँचौ स्थानमा एक्सयूभी ३०० रहेको छ । किया सोनेट ७ हजार ६१४ यूनिट विक्री हुँदा एक्सयूभी ३०० को विक्री ६ हजार २८२ यूनिट भएको तथ्यांक सार्वजनिक भएको हो ।


Back_to_top