नेक्सन ईभी धेरै बिक्नुको ४ कारण

काठमाडौं । नेपालमा विद्युतीय कारको विक्री सन् २०१० देखि नै सुरु भए पनि संख्यात्मक वृद्धि सन् २०१८ पछि भएको हो । हुन्डाई, बीवाइडी, किया, एमजी जस्ता ब्राण्डले ठूला एसयूभी सेग्मेन्टमा विद्युतीय गाडीको आयात र विक्री वितरण सुरु गरेसँगै ईभीको विक्रीमा उछाल आएको हो ।

सन् २०१८ मा आएको हुन्डाई कोना र सन् २०१९ मा आएको किया निरो तथा एमजी जेडएसले निकै राम्रो सफलता पाएको बजारमा बीवाइडीको नयाँ इ सिक्स प्रबेश गरेपछि उसले पनि राम्रै सफलता पायो । यी मध्ये हुन्डाई कोना र बीवाइडी ई सिक्स अहिले पनि निकै सफल मोडल मानिन्छन् ।

कोना र ई सिक्सको मूल्य ६० लाख हाराहारी रहेको समयमा ३६ लाख सुरुवाती मूल्य तोकेर विक्री सुरु भएको नेक्सन ईभीले निकै ठूलो सफलता पाउन सफल भएको थियो । विभिन्न तीन भेरियन्टमा विक्री सुरु भएको नेक्सन ईभी मूल्य कम र उच्च ग्राउन्ड क्लियरेन्सको कारण चर्चा कमाउन सफल एसयूभी बन्यो । यसको अर्को बलियो पक्ष सेफ्टी र डिजाइन पनि हो ।

सिप्रदी ट्रेडिङले सन् २०२१ बाट नेपाल विक्री सुरु गरेको नेक्सन ईभी करिब ६५ प्रतिशत बजार हिस्सा सहित बलियो मोडल बनिसकेको छ । यस्तोमा हामीले विभिन्न गाडी चढिरहेका मानिससँगको कुराकानीपछि यसको बलियो पक्षलाई यहाँ प्रस्तुत गरेका छौं ।

१. डिजाइन र फिचर

टाटा मोटर्सको गेमचेन्जर मोडलको रुपमा सन् २०१८ मा आएको नेक्सनकै इलेक्ट्रीक भर्सन भएको कारण यसलाई धेरै मानिसले सहजै स्विकार गरेका हुन् । टाटाले नेक्सन ईभीमा पनि १६ इन्च अलाय ह्वील, माथिल्ला भेरियन्टमा लेदर सिट, ड्यूल टोन ड्यासबोर्ड, विभिन्न ड्राइभिङ मोड, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम जस्ता फिचर दिएको छ ।

कम्पनीले सिग्नेचर एलइडी टेलल्याम्प, सनरुफ, पियानो व्ल्याक कलरको ओआरभीएम, रुफरेल, नयाँ सार्क फिन एन्टेनाका साथै बडी कलर कै डोर ह्याण्डल पनि दिएको छ । समग्रमा नेक्सन ईभी एक स्पोर्टी लुक्समा उपलब्ध एसयूभी हो ।

२. मूल्य र पावर

सिप्रदी ट्रेडिङले ३८ लाखदेखि ४४ लाख रुपैयाँसम्म मूल्य तोकेर विक्री गर्दै आएको नेक्सन आफ्नो मन पर्ने कलरमा छनोट गर्न सकिन्छ । कम्बस्चन इन्जिनको तुलनामा निकै कम मूल्यमा किन्न पाइने भएको कारण पनि धेरै मानिसको रोजाईमा नेक्सन ईभी परेको हो ।

टाटाले नेपालमा विक्री गर्दै आएको नेक्सन ईभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ भने ९५ किलोवाट क्षमताको मोटर दिएको छ । यसको मतलव नेक्सन ईभीको अधिकतम पावर १२९ पीएस हो ।

३. उच्च ग्राउन्ड क्लियरेन्स

नेपाली बजारमा उपलब्ध सबै विद्युतीय कारको तुलनामा नेक्सन ईभीमा सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ । कम्पनीले यसमा २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिएकै कारण रफ रोडमा पनि यसलाई चलाउन सकिन्छ ।

४. ब्राण्ड लिगेसी

टाटा नेपालमा निकै सफल ब्राण्ड बनिसकेको छ । विशेषगरी बलियो विक्री र विक्रीपछिको सेवा दिन सक्ने भएकै कारण टाटाका कारले राम्रो विक्री पाइरहेको छ ।

भारतीय ब्राण्ड भएकै कारण टाटा प्रति विश्वस पनि बढ्दो क्रममा रहेको छ । तुलनात्मक रुपमा समस्या आउँदा पनि भारतबाट सामान ल्याएर बनाउन चाँडो हुने लगायतका ग्राहकको मनोविज्ञानको कारण पनि टाटाको विद्युतीय नेक्सनले सफलता पाएको हो ।

 


Back_to_top