केही महिनापछि होन्डाको पहिलो इलेक्ट्रीक स्कुटर बजारमा आउने

काठमाडौं । बजारमा इलेक्ट्रीक सवारीसाधनको माग बढ्दै जाँदा होन्डा इन्डियाले २०२३ को पहिलो क्वाटरमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको छ । कम्पनीले एक विज्ञप्ती मार्फत नयाँ स्कुटर सार्वजनिक गर्ने जनाएको भएपनि नाम भने सार्वजनिक गरेको छैन ।

होन्डाले आफ्नो पहिलो स्कुटरका बारेमा कुनै जानकारी बाहिर नल्याए पनि बजाज चेतक र टीभीएस आइक्यूव जस्ता परम्परागत प्रतिस्पर्धीले बजारमा ल्याएका मोडलसँग प्रतिस्पर्धा गर्नेगरी ल्याउने अनुमान गर्न सकिन्छ ।

होन्डा इन्डियाले ल्याउने पहिलो इलेक्ट्रीक स्कुटर होन्डा एक्टिभामा आधारित हुने अनुमान धेरैले गरेका छन् । होन्डा इन्डियाले आफ्नो तयारीलाई तिब्र पारेसँगै बजारमा नयाँ प्रतिस्पर्धाको संकेतहरु देखिएका छन् ।

होन्डाले हालै मात्र इटालीको मिलानमा सम्पन्न भएको इआईसीएमए अटो एक्स्पोमा होन्डा इएम १ इलेक्ट्रीक स्कुटर प्रदर्शन गरेको थियो । कम्पनीले प्रदर्शन गरेको स्कुटरमा ब्याट्री स्वाप ‘परिर्वतन’ गर्न मिल्ने रहेको छ । होन्डा इएम १ एक पटकको फुलचार्जमा ६० किलोमिटर गुडाउन सकिने छ । यसको टप स्पीड ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यूरोपियन बजारका लागि उत्पादन गरिएको यो स्कुटर एशियाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । सन् २०२३ को अन्त्यमा यो स्कुटर एशियाली बजारमा सार्वजनिक हुने सम्भावना रहेको छ ।

कम्पनीले लामो समयदेखि भारतको बैंगलोरमा ब्याट्री स्वाप टेक्नोलोजीको परिक्षण गरिरहेको छ ।


Back_to_top