बजारमा छैन क्लासिक डिजाइनका मोटरसाइकल, यस्तो छ कारण

काठमाडौं । सरकारले आयात प्रतिबन्ध लगाएसँगै बजारमा मोटरसाइकलको अभाव भएको छ । विशेषगरी टुरिङ कल्चरको रुपमा लिइने क्लासिक डिजाइनमा बनेका मोटरसाइकल बजारमा किन्न पाइदैन ।

रोयल इनफिल्ड, होन्डा, हस्कभर्ना, जावा लगायतका ब्राण्डले क्लासिक डिजाइनमा उपलब्ध मोटरसाइकल विक्री गर्दै आएका थिए । तर, साउन बैशाख १४ गतेदेखि नै २५० सीसी माथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको कारण अहिले मोटरसाइकल उपलब्ध छैनन् ।

‘हामीसँग भएका सबै स्टक सकिएको छ । अब शोरुम बन्द गर्ने वा केही समय कुर्ने भन्ने अवस्था सृजना भएको छ’, एक विक्रेताले मेरोअटोसँग भने ।

रोयल इनफिल्डको आधिकारीक विक्रेता अल्फा अटोमोटीभ्सका अनुसार मोटरसाइकलको अभावमा कर्मचारी कटौती गर्नु परेको जनाएको छ ।

वार्षिक ७ देखि १० हजार यूनिट हाराहारी विक्री हुने क्लासिक मोटरसाइकल यसअघि पनि सरकारको चर्को करको कारण समस्यामा परेका थिए । त्यसमा आयात प्रतिबन्धको मारपछि बन्द हुने अवस्थामा पुगेका हुन् ।

रोयल इनफिल्ड क्लासिक ३५० र मेटोर ३५०, होन्डा हाइनेस सिबी ३५० र सिबी ३५० आरएस, जावा फोर्टी टु, जावा पेरक तथा जावा क्लासिक जस्ता मोटरसाइकलको आयात रोकिएको छ । यसले अहिले तत्काल मोटरसाइकल किन्न चाहने ग्राहकले आफ्नो छनोट अनुसार खरिद गर्न पाउने छैनन् ।

पर्यटन क्षेत्रमा समेत सहयोग गर्दै आएको यस्ता क्लासिक मोटरसाइकलबाट सरकारले ७० प्रतिशत भन्सार र ८० प्रतिशत अन्तःशुल्क उठाउँदै आएको थियो । अहिलेको आयात प्रतिबन्धको कारण सरकारले राजश्व र ब्यबसायीले आफ्नो ब्यबसाय नै गुमाउनु पर्ने अवस्था आएको छ ।

चालु आर्थिक वर्षको बजेटले यसअघि लाग्दै आएको २५० देखि ५०० सीसीसम्मका मोटरसाइकलको भन्सारलाई ३० बाट बढाएर ७० प्रतिशत बनाएको थियो । यसले मोटरसाइकलको मूल्य १ लाख २० हजारसम्मले बढेको भएपनि किन्न चाहने मानिसले किन्न पाउने अवस्था छैन ।


Back_to_top