काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले आफ्नो चर्चित मोडल डस्टरको उत्पादन फेरी गर्ने भएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्ट आउने डस्टर यसअघि पनि निकै चर्चित एसयूभीको रुपमा आएको थियो ।
रेनोले यसअघि नेपाल ल्याएको डस्टर सबैभन्दा कम मूल्यको फोर ह्वील अप्सन उपलब्ध कार थियो । अहिले नेपाली बजारमा यो सेग्मेन्टमा निसान किक्स, हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशक, फक्सवागेन टाइगुन, मारुती सुजुकी ग्राण्ड भिटार, टोयोटा अर्वान क्रुजर हाइराइडर जस्ता मोडल बजारमा उपलब्ध छन् ।
उल्लेखित मोडलका अलावा जीप, टाटा, होन्डा, मित्सुबीसी जस्ता ब्राण्डले पनि यही सेग्मेन्टमा नयाँ मोडल ल्याउने तयारी गरिरहेका छन् । फ्रन्च निर्माताले बजारमा बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै डस्टरलाई पुनः बजारमा ल्याउने घोषणा गरेको हो । कम्पनीले आफ्नो नयाँ सीएमएफ–बी प्लेटफर्ममा आधारित रहेर नयाँ डस्टर बजारमा ल्याउने तयारी थालेको हो । त्यसको लागि कम्पनीले ४० अर्ब भारतीय रुपैयाँ थप लगानी गर्ने घोषणा गरेको हो ।
नयाँ जेनेरेशन डस्टर हाइब्रिड इन्जिनमा उपलब्ध हुनेछ । यसअघि पनि फोर ह्वील ड्राइभ सिस्टम समेत उपलब्ध डस्टर नयाँ जेनेरेशन मोडलमा अल ह्वील ड्राइभ सिस्टम सहित आउने अपेक्षा गरिएको छ । नयाँ डस्टर माइलेजको लागि पनि उत्कृष्ट हुने अनुमान गर्न सकिन्छ । नयाँ डस्टर २०२४ बाट बजारमा आउने छ ।
नयाँ डस्टर एसयूभीमा धेरै आधुनिक फिचरहरु रहने छन् । बाहिरी आवरणमा प्रमिनेन्ट ह्वीलआर्क, स्क्वायर अफ फेन्डर, मस्कुलर बडीवर्कले जो कोहीलाई लोभ्याउने अनुमान गर्न सकिन्छ ।
सन् २०१७ मा नेपाल आएको डस्टरले निकै राम्रो विक्री पाउन सफल भएको थियो । अहिले पनि सडकमा डस्टरको उपस्थिति निकै राम्रो पाउन सकिन्छ । तर, डस्टर र क्याप्चरको उत्पादन बन्द भएपछि रेनोसँग अहिले हजार सीसी क्षमताका क्वीड, ट्राइबर र काइगर मोडल मात्रै उपलब्ध छन् ।


