विलिङ एयर मिनीः ५ लाख डाउन पेमेन्ट वा २२ हजार मासिक किस्ता

काठमाडौं । ईभी नेपाल मोटर्सले विक्री सुरु गरेको ‘विलिङ एयर मिनी’ किन्न चाहने ग्राहकले आफुसँग भएको बचतको आधारमा डाउन पेमेन्ट तिरेर किन्न पाउने छन् ।

सरकारले नै ईभी किन्न चाहने ग्राहकलाई गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन बाटो खुल्ला गरेको छ । तर, ८० प्रतिशत रकम कर्जा लिएर धेरै ब्याज तिर्नु पर्ने हुँदा आफुसँग डाउन पेमेन्टको लागि पैसा पुग्छ भने ५० प्रतिशतसम्म डाउन पेमेन्ट गरेर खरिद गर्नु उपयुक्त हुन्छ ।

ईभी नेपालले विक्री सुरु गरेको विलिङ एयर मिनीको स्ट्याण्डर्ड रेन्ज मोडल सिंगल चार्जमा २०० किलोमिटर दिन सक्ने क्षमताको रहेको कम्पनीको दावी छ । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

गाडी विक्रेताले विभिन्न बैंकसँग कर्जा सम्झौंता गरेर काम गरिरहेको छ । बैंकहरुले १२.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रबाह गर्ने भएको कारण ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नेले मासिक २२ हजार ७२५ रुपैयाँ ७ वर्षसम्म किस्ता बुझाउनु पर्ने हुन्छ । त्यसको लागि विलिङ एयर मिनीको सर्ट रेन्ज भर्सन किन्दा सुरुमा १२ लाख ४९ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ ।

यदि तपाईसँग डाउन पेमेन्टको लागि थोरै रकम मात्रै छ भने ४ लाख ९९ हजार ८०० रुपैयाँ मात्रै डाउन पेमेन्ट बुझाएर पनि गाडी खरिद गर्न सकिन्छ । त्यसको लागि गाडीको मूल्यको ८० प्रतिशत कर्जा लिनु पर्छ । यसरी कर्जा लिँदा १९ लाख ९९ हजार २०० रुपैयाँ कर्जा रकम हुन्छ ।

यसरी लिएको कर्जा ७ वर्ष भित्र १२.९९ प्रतिशतले ब्याजसहित हिसाव गर्दा मासिक ३६ हजार ३५९ रुपैयाँ मासिक रुपमा बैंकमा तिर्नु पर्छ ।

यस्तो छ विलिङ मिनी

सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण चीनमा मात्रै दुई वर्षमा ९ लाख यूनिट वूलिङ विक्री भएको छ । यो मिनी कारको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६३१ एमएम रहेको छ ।

विलिङको सर्ट रेन्ज भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी छ ।

दुई ढोका र चार सिट अप्सनमा नेपाल आएको विलिङ एआई फिचर भएको मिनी ईभी हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् । कम्पनीले यसको व्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ ।


Back_to_top