काठमाडौं । भारत सरकारले विद्युतीय दुई पाङ्ग्रे साधनमा नयाँ प्रोटोकल लागु गरेसँगै विक्री सुरु गर्ने तयारी भइरहेको समयमा ओवेन रोर इलेक्ट्रीक मोटरसाइकल बजारमा जान पाएको थिएन । अब नयाँ मापदण्ड पुरा गरेर कम्पनीले मार्च २०२३ देखि विक्री सुरु गर्ने जनाएको हो ।
ओवेन रोर मोटरसाइकल विशेषत डिजाइन र रेन्जको लागि सुरुदेखिनै चर्चामा रहेको मोडल हो । एक पटकको फुल चार्जमा २०० किलोमिटर रेन्ज दिने यो मोटरसाइकलको भारतमा मूल्य १ लाख ३ हजार (एक्स शोरुम दिल्ली) भारतीय रुपैयाँ निर्धारण गरेको छ ।
ओवेन इलेक्ट्रीकको उत्पादन नेपाली बजारमा ई-मोटो प्रालिले विक्री वितरण गर्नेछ । ई-मोटो गोल्छा अर्गनाइजेशन अन्तर्गतको कम्पनी हो । कम्पनीले अबको दुई हप्तामा केही यूनिट स्कुटर नेपाल ल्याउने योजना बनाएको छ ।
‘हामीले पहिल्यै नेपाल ल्याउने योजना बनाएका थियौं । भारतमा विद्युतीय दुई पाङ्ग्रे साधनको ब्याट्रीमा समस्या आएपछि लागु भएको नयाँ सुरक्षा प्रोटोकलको कारण ओवेनका उत्पादन विक्री सुरु हुन पाएको थिएन । अब भारतमा विक्री सुरु हुँदैछ । हामी पनि दुई हप्ता भित्रै केही यूनिट भारतबाट हिडाउने प्रक्रियामा छौं’, ई-मोटो स्रोतले मेरोअटोसँग भन्यो ।
ई-मोटोले नेपाल ल्याउन लागेको इलेक्ट्रीक मोटरसाइकल भारतको बैंगलोर बेस स्टार्टअप कम्पनी ओवेनले उत्पादन गरेको हो ।
कम्पनीले फ्युचरस्टीक डिजाइनमा तयार पारेको यो मोटरसाइकलमा राउण्डसेप एलइडी हेडल्याम्प दिएको छ । त्यस्तै यसमा इन्टिग्रेटेड गोलाकार एलइडी डिआरएल, स्प्लीट सिट, स्प्लीट ग्रयावरेल, अलोय ह्वील दिएको छ ।
ओवेनका अनुसार यो मोटरसाइकल ० देखि ४० को स्पीड मात्र ३ सेकेन्डमा पुरा गर्छ । यो मोटरसाइकलको टप स्पीड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । ओवेन रोरमा तीन राइडिङ मोड दिइएको छ ।
यो मोटरसाइकलमा ४.४ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ । यसमा ब्याट्री कुलिङ प्रविधि (एमएचएक्स)को प्रयोग गरिएको छ । यो मोटरसाइकलले ६२ एनएम टर्क प्रदान गर्छ ।
ओवेन रोरको अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन दिइएको छ । ब्रेकिङ सेटअपमा दुबै तर्फ डिस्क ब्रेक दिइएको छ भने, एबीएस उपलब्ध छैन । त्यस्तै यसमा एलइडी इन्स्ट्रुमेन्ट कन्सोलका साथै कनेक्टिभिटी फिचर पाउन सकिन्छ ।

