काठमाडौं । सरकारले कम्बस्चन गाडीमा लामो आयात प्रतिबन्ध लगाउँदा ईभीको बजारमा सकारात्मक वृद्धि हुँदै गएको छ । यद्यपि उत्पादकले सप्लाई दिन नसक्दा चल्तीका मोडल बुकिङ गरेर बसेका मानिसले पनि ईभी घर लान पाएका छैनन् ।
नेपालमा ईभीको प्रयोग सन् २०१८ देखि नै बढेको हो । तर, सरकारले यस बीचमा थुप्रै पटक करका दरहरु चलाउँदा बजारको प्रतिक्रिया नराम्रो बन्यो । जसले आयातको क्रममा रहेका ईभी रोकिए भने नेपाल आएका ईभीको चर्चा पनि कम भयो ।
सरकारले ईभीमा अब स्थिर नीति रहने बताएको र उपभोक्तामा पनि अब कर घट्दैन भन्ने संदेश जान थालेसँगै विभिन्न कम्पनीले नयाँ ईभी ल्याउने प्रक्रिया थालेका छन् । कम्पनीहरुले सन् २०२३ भित्र नेपाल ल्याउने र आउने सक्ने मोडलको तयारी तिब्र बनाएका छन् ।
भारतमा ईभी उत्पादनमा जुटेका कम्पनीहरुले सन् २०२३ को ६ महिना भित्रै विक्री सुरु गर्ने नयाँ इलेक्ट्रीक कार नेपाल आउने छन् भने भारत बाहेक अमेरिका, यूरोप र अन्य एशियाली देशबाट पनि ईभी नेपाल आउने छन् ।
१. टाटा टियागोः टाटाको सबैभन्दा कम मूल्यको ह्याचव्याकको रुपमा आएको टियागो अहिले नेपालमा विक्री हुँदै आएको पेट्रोल टियागोकै इलेक्ट्रीक भर्सन हो । सिप्रदी ट्रेडिङले २०२३ को मार्चसम्ममा यसको विक्री वितरण सुरु गरिसक्ने छ । भारतमा जनवरीबाट विक्री सुरु हुने टियागो इलेक्ट्रीक पर्फेक्ट फ्यामली कार बन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

टाटा टियागो भारतमा दुई ब्याट्री अप्सनमा विक्री सुरु हुँदैछ । नेपालमा कुन अप्सन आउने छ भन्ने एकिन नभएपनि सम्भवत २४ किलोवाट आवरको ब्याट्रीमा आउने छ । यसमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसले सिंगल चार्जमा ३१० किलोमिटर रेन्ज दिने एआरएआईको परिक्षणले देखाएको भएपनि नेपाली सडकमा २०० किमि हाराहारी रेन्ज आउने अनुमान गर्न सकिन्छ । यसको मूल्य २८ लाख भित्रै रहने अपेक्षा छ ।
२. बीवाइडी डल्फीनः चिनियाँ गाडी उत्पादक बीवाइडीले नेपालमा डल्फीन ह्याचव्याक विक्री थाल्ने अनुमान गर्न सकिन्छ । त्यसको संकेत आधिकारीक विक्रेता साइमेक्स इंकले दिएको छ । साइमेक्स इंक स्रोतका अनुसार २०२३ को पहिलो क्वाटरसम्ममा डल्फीन मोडल नेपाल आउने छ ।

बीवाइडी डल्फीन पनि अन्तर्राष्ट्रिय बजारमा ३०.७ र ४४.९ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध छ । नेपालमा कुन अप्सन आउने छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन । डल्फीनमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । यसको मूल्यको विषयमा कुनै जानकारी प्राप्त नभएपनि ४० देखि ४५ लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।
३. एमजीको मिनीः एमजीले भारतमा उत्पादन गरिरहेको सिटी कार जनवरीमा भारतीय बजारबाट ग्लोवल प्रिमियर हुने भएको छ । कम्पनीले विलिङ मिनीमा आधारित रहेर उत्पादन गरेको मिनी ईभीको नाम राखिसकेको छैन । सम्भवत २०२३ को दोस्रो क्वाटरबाट यसको विक्री नेपालमा सुरु हुने छ ।

एमजीले यो सानो ईभीलाई २६ किलोवाट आवरको ब्याट्री र ३० किलोवाट क्षमताको मोटर दिएर ल्याउने अनुमान गरिएको छ । भारतीय सडक अनुसारको ग्राउन्ड क्लियरेन्स र पर्फमेन्समा आउने अपेक्षा गरिएको यो मिनी ईभीलाई नेपाली बजारमा पारामाउन्ट मोटर्सले ल्याउने छ । अहिले नेपालमा विक्री सुरु भएको विलिङ एयर मिनीसँग यसको सिधा प्रतिस्पर्धा हुनेछ । यसको मूल्य पनि विलिङ मिनी हाराहारी रहने अनुमान गर्न सकिन्छ ।
४. किया निरोः कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले तीन वर्ष अघिनै निरो ईभी नेपाल ल्याएको थियो । तर, सरकारले करमा गरेको वृद्धिसँगै निरो ईभी आयात भएन । १५० किलोवाट क्षमताको मोटर रहेको निरो सट्टा अब कम्पनीले १०० किलोवाट क्षमताको मोटरमा निरो ल्याउने छ ।

अहिले बजारमा विक्री भइरहेको हुन्डाई कोनाको सिधा प्रतिस्पर्धी बन्ने निरोमा ३९.२ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा २९० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसको मूल्य पनि ६० लाख हारहारी रहने अनुमान गर्न सकिन्छ । किया निरो पनि २०२३ मा नेपाल आउने मोडल हो ।
५. सिट्रोन सी ३ः भारतीय बजारमा टाटा नेक्सन ईभीलाई टक्कर दिन आउन लागेको सिट्रोन सी ३ जनवरीमा सार्वजनिक हुनेछ । तर, यसको आधिकारीक विक्री कहिलेबाट हुन्छ भन्ने विषयमा एकिन समय बाहिर आएको छैन ।

फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले सी ३ इलेक्ट्रीकमा ३० किलोवाट आवरको ब्याट्री र ९५ किलोवाट क्षमताको मोटर दिने अनुमान गरिएको छ । यसको मूल्य पनि नेक्सन ईभी हाराहारी नै रहने अनुमान गर्न सकिन्छ । भारतमा विक्री सुरु भएपछि यसलाई साँग्रिला मोटर्सले नेपाल ल्याउने छ ।
६. महिन्द्रा एक्सयूभी ४००ः जनवरीबाटै भारतमा विक्री सुरु हुने महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी नेपाल आउने छ । अग्नी इनर्जीले नेपाल ल्याउने एक्सयूभी ४०० मा ११४ किलोवाट क्षमताको मोटर र ३९.४ किलोवाट आवरको ब्याट्री रहने छ ।

महिन्द्राले ५० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्नेगरी तयार गरेको एक्सयूभी ४०० ठूलो मोटरको कारण महंगो मूल्य पर्ने अनुमान गरिएको छ । नेपालमा यसको मूल्य लगायतका विषयमा अहिले केही अनुमान गर्न सक्ने अवस्था छैन ।
७. जीप एभेन्जरः अमेरिकी कम्पनी जीपको एभेन्जर ईभी नेपाल आउने छ । लाइफ अटोमोवाइलले नेपाल ल्याउने जीप एभेन्जर मार्चबाट यूरोपमा डेलिभरी सुरु हुनेछ । सम्भवत सन् २०२३ को दोस्रो क्वाटरसम्ममा जीप एभेन्जर नेपाल आउने छ ।

जीपको अफरोड क्षमता रहने यो एसयूभी निकै चर्चामा रहेको छ । कम्पनीले यसमा ५४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिएको छ भने ११५ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । यसले ४०० किलोमिटरभन्दा माथि रेन्ज प्रदान गर्नेछ ।
८. नेटा यू प्रोः चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेटा भीको सफलतापछि नेटा यू प्राे नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ । चिनियाँ होजोन मोटर्सले उत्पादन गरेको नेटा यू अहिले विक्री भइरहेको नेटा भीभन्दा ठूलो छ ।

नेटा यू प्रोमा १२० किलोवाट क्षमताको मोटर र ८१ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध रहेको छ । कम्पनीको दावी अनुसार यसले ६०० किलोमिटर माथि रेन्ज दिनेछ ।

