तयार हुँदै होन्डाको नयाँ एसयूभी, केही महिना भित्रै विक्री सुरु हुने

सांकेतिक तस्विर

काठमाडौं । लामो समयदेखि निर्माणको क्रममा रहेको होन्डाको नयाँ एसयूभी सन् २०२३को मध्यसम्ममा भारतमा विक्री सुरु हुने भएको छ । होन्डाले सार्वजनिक गर्ने तयारी गरेको कम्प्याक्ट एसयूभीको सिधा प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुने अनुमान गरिएको छ ।

होन्डाले ल्याउने नयाँ एसयूभी पूर्ण पेट्रोल र प्योर हाइब्रिड इन्जिनमा आउने रिपोर्टहरु सार्वजनिक भएका छन् । होन्डाले आफ्नो १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनमा नयाँ एसयूभी ल्याउने छ । उक्त इन्जिनले १२१ हर्स पावर प्रदान गर्ने कम्पनीको दावी छ ।

त्यस्तै, होन्डाले धेरै माइलेज दिने हाइब्रिड भर्सनमा भने इलेक्ट्रीक मोटरको साथ १.५ लिटर क्षमताको पेट्रोल इन्जिन दिनेछ । होन्डा अमेजमा आधारित रहेर विकास गरिएको नयाँ एसयूभीको लम्बाई ४.२ देखि ४.३ मिटर लामो रहने बताइएको छ ।

होन्डाले आफ्नो मध्यम आकारको एसयूभीमा ब्यापक क्रोमको प्रयोग गर्नेछ । भारतीय बजारमा क्रोम निकै पपुलर रहेको कारण होन्डाले यसमा क्रोम फिनिसिङ दिन लागेको हो ।

यसमा हेक्सागोनल ग्रिलको साथमा र्यापअराउन्ड हेडल्याम्प रहने छ । नयाँ इलेक्ट्रोनिक आर्किटेक्चर र स्क्रिन सिस्टमको प्रयोग हुने एसयूभीमा १०.२ इन्चको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम पाउन सकिन्छ ।

होन्डाले नयाँ एसयूभीमा ब्लाइन्ड स्पट मनिटरिङ, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट लगायतका सुरक्षा फिचर्स दिनेछ ।


Back_to_top