काठमाडौं । विद्युतीय कारको रफ्तारमा अर्थमन्त्रीको ब्रेकपछि नेक्सनको बजार तिब्र विस्तार भयो । सरकारले १०० किलोवाटभन्दा माथि क्षमताका मोटर जडान भएका कारमा भन्सार र अन्तःशुल्क वृद्धि गर्दा नेक्सनलाई बजारमा एकछत्र रा जगर्ने बाटो खुल्यो ।
रेगुलर नेक्सनकै इलेक्ट्रीक भर्सनमा आएको कारण यसले बजारमा सहजै आफ्नो प्रभाव कायम गर्न सफल भयो । मूल्यका हिसावले कम्बस्चनभन्दा निकै सस्तो मूल्यमा उपलब्ध भएको कारण पनि यसलाई किन्न चाहने मानिसले धेरै विषयमा विचार नै गर्न परेन । कम्बस्चन इन्जिन भएका कारको आयात प्रतिबन्ध र एमजी जेडएस जस्ता सफल ईभीको मूल्य ब्यापक वृद्धि हुने अवस्था सृजना भएको कारण नेक्सनलाई बजारमा सफलता पाउन रोक्ने कुनै मोडल नै भएन ।
सिप्रदी ट्रेडिङले सन् २०२१ बाट नेपालमा विक्री सुरु गरेको नेक्सन ईभी करिब ७५ प्रतिशत बजार हिस्सासहित बलियो मोडल बनिसकेको छ । आकर्षक डिजाइन र फिचर लोडेड भएको कारण पनि यसलाई धेरैले मनपराए ।
टाटाले नेक्सन ईभीमा १६ इन्च अलोय ह्वील, माथिल्ला भेरियन्टमा लेदर सिट, ड्यूल टोन ड्यासबोर्ड, विभिन्न ड्राइभिङ मोड, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम जस्ता फिचर दिएको छ ।
कम्पनीले यसको एक्स्टेरियरमा सिग्नेचर एलइडी टेलल्याम्प, सनरुफ, पियानो व्ल्याक कलरको ओआरभीएम, रुफरेल, नयाँ सार्क फिन एन्टेनाका साथै बडी कलर कै डोर ह्याण्डल पनि दिएको छ । समग्रमा नेक्सन ईभी एक स्पोर्टी लुक्समा उपलब्ध एसयूभी हो ।
टाटाले नेपालमा विक्री गर्दै आएको नेक्सन ईभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा रहेको ९५ किलोवाट क्षमताको मोटर र करिब २०० देखि २५० किलोमिटरसम्म (बाटोको अवस्था अनुसार)को पाउन सकिन्छ ।
सिप्रदीले नेक्सन ईभीको नेपालमा विक्री सुरु गरेसँगै देशको विभिन्न स्थानमा फास्ट चार्जरहरु जडान गर्दै ग्राहकलाई उत्कृष्ट सेवा अफर गरेको थियो । त्यसले पनि धेरै ग्राहकलाई नेक्सन किन्ने वातावरण निर्माण भयो ।
नेक्सनको सफलतासँगै कम्पनीले टिगोर ईभी नेपाल ल्याइसकेको छ । अब नेक्सन म्याक्स र टियागो ईभी पनि चाँडै नेपाल ल्याउने मोडलमा पर्छन् ।

