अटोमोवाइल ब्यवसाय गर्नेले कहिल्यै सम्झन नचाहने वर्ष २०२२

काठमाडौं । सन् २०२२ हामीबाट विदा भइसकेको छ । विशेषगरी बढ्दो मूल्यवृद्धि, आर्थिक संकट र घट्दो डलर संचितिले नेपाललाई निकै कठिन अवस्थामा पुर्यायो । फलस्वरुप विलासी बस्तुको आयात रोक्ने नाममा सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात प्रतिबन्ध लगायो । केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई गाडी आयात गर्न खोलिने एलसी मार्जिन बढाउने व्यवस्था गरेर आयात निरुत्साहीत गरिरह्यो । साथै, गाडी किन्नेलाई दिइने कर्जाको जोखिमभार समेत बढाइयो ।

चालु आर्थिक वर्ष २०७९/८०को बजेटले पनि निजी सवारीसाधनमा लाग्दै आएको करको दरहरु परिवर्तन गरेको थियो । राज्यले कर उठाउने एउटा मात्रै सजिलो माध्यम अटोमोवाइल क्षेत्रलाई बनाउँदा अन्तःशुल्क वृद्धिको मार खेप्नु परेको थियो । तात्कालीन अर्थमन्त्री जनार्दन शर्माले कम्बस्चन इन्जिन भएका कारको मात्रै कर बढाएनन् । उनले मोटरसाइकल र विद्युतीय कारमा लाग्दै आएको करमा पनि वृद्धि गरे । यसले समग्र अटोमोवाइल क्षेत्रमा मूल्य वृद्धि भयो ।

यी सबै कुरा अटो क्षेत्रको लागि नकारात्मक भएपनि सन् २०२२ मा केही नयाँ कुराहरु पनि भए । सरकारले आयात प्रतिबन्ध लगाउँदा अन एसेम्बल्ड अवस्थाका सवारीसाधन आयात रोकेको थिए । त्यसैले अधिकांश दुई पाङ्ग्रे सवारी साधन विक्री गर्दै आएका ठूला ब्राण्डले यही एसेम्बल प्लान्ट स्थापनाको काम अगाडि बढाए । बजाज र टीभीएसको मात्रै एसेम्बल प्लान्ट रहेकोमा अब हिरो, सुजुकी, यामाहा, रोयल इनफिल्ड, होन्डा जस्ता ब्राण्डले प्लान्ट बनाइरहेका छन् ।

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सरकारले गरिरहेको प्रयास भने केही सम्झन लायक रह्यो । साझा यातायातले ४० वटा विद्युतीय बस नेपाल ल्यायो । लुम्बिनीमा लामो समयदेखि थन्केर बसेको विद्युतीय साधनहरु संचालनमा आए । नेपाल विद्युत प्राधिकरणको अग्रसरतामा देशभर बन्ने भनिएको ५० वटा चार्जिङ नेटवर्क निर्माणको सुरुवात भयो । केही स्थानमा चार्जिङ सेन्टर संचालनमा पनि आइसकेको छ ।

निजी क्षेत्रको पहलमा विभिन्न कम्पनीले पनि फास्ट चार्जिङ नेटवर्क स्थापना गरे । टाटाले देशका विभिन्न भागमा डिसी चार्जर जडान गरेको थियो । साथै, एमजीले पनि फास्ट चार्जर लगाइरहेको छ । यी सबै कामले विद्युतीय साधन प्रयोग गर्नेहरुमा एक किसिमको आत्मबल प्रदान गर्न सफल भएको छ ।

सरकारले अटोमोवाइल क्षेत्रलाई निरुत्साहनको लागि गरेका काम र ईभी प्रयोगको लागि गरेको केही सकारात्मक कामले अटोमोवाइल क्षेत्रमा निरासा र चर्चाको अवस्था बन्यो । तर, एउटा परम्परागत अटोमोवाइल ब्यवसायीको लागि भने सन् २०२२ सम्झन लायक बनेन ।


Back_to_top