काठमाडौं । नयाँ प्रविधिको विकाससँगै सवारीसाधनको उत्पादन लागतसमेत केही कम हुँदै गएको छ । विगतमा सबै सवारीमा फ्युल इन्जेक्टेड प्रविधि उपलब्ध थिएन । तर हिजोआज उत्पादन हुने सबै कारमा फ्युल इन्जेक्टेड प्रविधि छ ।
कारमा मात्र होइन अहिले केही मोटरसाइकलमा समेत फ्युल इन्जेक्टेड प्रविधि उपलब्ध भइरहेको छ । अबको केही वर्षमा यो प्रविधि सबै मोटरसाइकलमा नदेखिएला भन्न सकिन्न । यो प्रविधिले सवारीको इन्जिनलाई थप स्मुद बनाउँछ ।
यहाँ फ्युल इन्जेक्टेड प्रविधियुक्त केही मोटरसाइकलको बारेमा उल्लेख गरिएको छ । नेपाली बजारमा ६ लाखभन्दा कम मूल्यमा पाइने फ्युल इन्जेक्टेड प्रविधियुक्त मोटरसाइकलहरु यस प्रकार रहेका छन् ।
१. बजाज डोमिनार ४००

बजाज डोमिनारमा ट्रिपल स्पार्क इन्जिन रहेको छ जुन केटीएम ३९० मा भएको मोटरमा आधारीत छ । ८ हजार आरपीएममा यो इन्जिनले ३६ एचपी पावर उत्पादन गर्छ । यो मोटरसाइकलमा एबीएस, पावरफुल एलइडी हेडलाइट र डिजिटल एलइडि इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ । एबीएस नभएको डोमिनारको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।
२. यामाहा फेजर २५

यामाहा फेजर २५ मा एयर कुल्ड २ सय ४९ सीसी इन्जिन छ जसले २०.९ एचपी अधिकतम पावर र २० एनएम टर्क दिन्छ । फेजर २५ मा एलइटी लाइट छ भने एबीएस उपलब्ध छैन । यो मोटरसाइकलको नेपाली बजार मूल्य ४ लाख १४ हजार ९०० रुपैयाँ छ ।
३. सुजुकी इन्ट्रुडर एफ१

क्रुज स्टाइल यो मोटरसाइकलमा १ सय ५५ सीसीको इन्जिन रहेको छ जसले ७००० आरपीएममा १४. एचपी पावर र ६००० हजार आरपीएममा १४ एनएम टर्क दिन्छ । यो मोटरसाइकलमा सिंगल च्यानल एबीएस रहेको छ । यो मोटरसाइकलको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ ।


