काठमाडौं । विश्वभर वार्षिक ८ करोड यूनिट कार विक्री हुँदै आएको छ । त्यसको लगभग आधा कार चीन र अमेरिकाले उपभोग गर्छन् । जापान, भारत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, फ्रान्स, रुस र बेलायत विश्वमै धेरै कार विक्री हुने देश हुन् ।
जहाँ बिक्छ, त्यहाँ बन्छ भन्ने नीति गाडी उत्पादनमा पनि देखिन्छ । अहिले चीन विश्वकै धेरै कार निर्माण गर्ने देश हो । त्यसपछि जापान, अमेरिका, भारत र यूरोप क्रमशः आउँछन् । सन् २०२० सम्म एउटा गतिमा अगाडि बढेको कार उत्पादन ईभीको चर्चा बढेसँगै फरक बाटोबाट अगाडि बढ्न सुरू भएको छ ।
यसले परम्परागत गाडी उत्पादन गर्दै आएका जाइन्ट कम्पनीहरूलाई समस्यामा पारेको प्रस्टै देखिन्छ ।
सन् २०२२ सकिँदै गर्दा विश्वभर पेट्रोलियम पदार्थबाट चल्ने कारको अन्वेषण र खोजमा कम्पनीहरूले लगानी गर्न छाडिसकेको प्रस्ट देखिन्छ । दशकौंदेखि कार उत्पादनमा महारथी हासिल गरेका कम्पनीहरूलाई ४/५ वर्षअघि स्थापना भएका स्टार्टअप कम्पनीहरूले हल्लाउन थालेका छन् ।
अमेरिकी ईभी कम्पनी टेस्लाले ७० वर्षको इतिहास बोकेको विश्वकै सबैभन्दा ठूलो कार उत्पादक टोयोटालाई निमेसभरमा उछिन्यो । टेस्लाका संस्थापक तथा सीईओ इलन मस्क विश्वकै सर्वाधिक धनी मानिस बने । भलै, उनको कम्पनीले अहिले पनि वार्षिक १२ लाख यूनिट हाराहारी मात्रै गाडी बनाउँछ । उनको कम्पनीको नेटवर्क छैन, केवल नेटवर्थ मात्रै छ । टेस्ला विश्व अटोमोबाइलमा स्टार्टअप कम्पनी खोल्नेहरूको लागि प्रेरणाको स्रोत हो ।
अहिले चीन, भारत, अमेरिका र यूरोपमा ईभी उत्पादन गर्ने हजारौं स्टार्टअप कम्पनीहरू संचालनमा छन् । तीमध्ये केही कम्पनीले राम्रै सफलता पाउने देखिएको छ । चीनमा मात्रै करिब एक दर्जन स्टार्टअपले आफ्नो उत्पादनको सहयोगले नाम कमाउन सफल भइसकेका छन् । अमेरिकी बजारमा पनि ठूला स्टार्टअपको सफलता सुरू भएको छ । यसले परम्परागत गाडी उत्पादन गर्दै आएका जाइन्ट कम्पनीहरूलाई समस्यामा पारेको प्रस्टै देखिन्छ ।
इनोभेसनमा स्टार्टअप कम्पनी
अहिले अटोमोबाइल क्षेत्रमा मात्रै ४ हजार ८५९ कम्पनीहरू स्टार्टअपको रूपमा संचालन भइरहेको ‘स्टार्टअप इन्साइड’ले तथ्यांक प्रकाशन गरेको छ । ती मध्ये करिब दुई दर्जन कम्पनीले ठूलो सफलता पाउने संकेत देखाएका छन् ।
नयाँ इनोभेसनको रूपमा अटोनोमस भेहिकलको खोजलाई एउटा युगान्तकारी परिवर्तन मान्न सकिन्छ । चालकविहीन गाडीको परिकल्पनाले लाखौं कार चढ्ने मानिसलाई सुरक्षाको हिसाबले खतरा मुक्त बनाउने आकलन गरिएको छ । तर, यसले निम्त्याउने बेरोजगारी र ट्राफिक जामको विषयमा अहिल्यै चर्चा सुरू भइसकेको छ ।

विभिन्न कम्पनीले सेल्फ ड्राइभिङ कारको परीक्षण गरिरहेका समाचार अन्तर्राष्ट्रिय मिडियामा दिनहुँ जस्तो पढ्न पाइन्छ । उत्पादक कम्पनीहरूले व्यस्त सडकमा नै यस्ता साधनको परीक्षण सुरू गरेको कारण अब यसको प्रयोग विश्वको लागि धेरै टाढाको विषय रहने छैन । सेल्फ ड्राइभिङ टेक्नोलोजी विकासमा अमेरिकामा रहेको इन्टोभ र यूडेल्भ जस्ता स्टार्टअप कम्पनीले सफलता हासिल गर्ने देखिएको छ ।

नयाँ खोजकै क्रममा निकै उपयोगी मानिएको ‘भेहिकल कनेक्टिभिटी’ फिचरको उपयोग बढ्दै गएको छ । विशेषगरी साधनको सुरक्षा र त्यससँग सम्बन्धित सूचनाको लागि यसको प्रयोग गरिन्छ । इन्स्योरेन्स, ड्राइभर सेफ्टी, मेन्टिनेन्सको लागि सूचना, फ्लीट म्यानेजमेन्ट जस्ता काममा भेहिकल कनेक्टिभिटीले निकै ठूलो सहयोग गरिरहेको छ ।
भेहिकल कनेक्टिभिटीमा पनि विभिन्न स्टार्टअप कम्पनीकै वर्चश्व रहेको पाइन्छ । बेलायती स्टाटअर्प कम्पनी ‘भीटूएक्स नेटवर्क’ले भेहिकल टू एभ्रिथिङ प्लेटफर्मको विकास गरेको छ । यसले रियल टाइम कम्युनिकेसनको काम गर्छ । यसलाई आफ्नो व्यक्तिगत डाटा राख्न निकै सुरक्षीत मानिएको छ ।
त्यसैगरी, इजरायली स्टार्टअप कम्पनी ‘नो ट्राफिक’ले आर्टिफिसियल इन्टेलिजेन्टमा आधारित ‘डिजिटल रोड इन्फ्राष्ट्रचर म्यानेजमेन्ट सिस्टम’ तयार गरेको छ । यसले सडकमा देखिने धेरै किसिमको ट्राफिक म्यानेजमेन्टमा सहयोग गर्ने छ । यसको प्रयोग गाडीधनीले माइक्रो पेमेन्ट र माइक्रो मोबिलिटीमा समेत गर्न सक्नेछन् ।

विद्युतीय कारको उत्पादन र उपभोग बढ्न थालेसँगै नयाँ किसिमका ब्याट्री उत्पादनसँग जोडिएर नयाँ नयाँ खोजहरू भइरहेका छन् । साथै, मोटर र ब्याट्री म्यानेजमेन्ट सिस्टमलाई चुस्त बनाउन विभिन्न स्टार्टअप कम्पनीहरूले काम गरिरहेका छन् । यसमा सबैभन्दा चर्चित स्टार्टअप कम्पनी ‘चार्जर एक्स’ हो । यसले पार्किङ स्थललाई चार्जिङ बनाउने भन्दै २२ किलोवाटको माइक्रो चार्जर तयार गरेको छ ।
यी केबल प्रतिनिधिको रूपमा लिइएका स्टार्टअप कम्पनी हुन् । यी कम्पनीले जसरी नयाँ खोज र अनुसन्धान गरिरहेका छन्, त्यसले भोलिका दिनमा अटोमोबाइल क्षेत्रको परिवर्तनमा निकै ठूलो भूमिका निर्वाह गर्नेछ ।

