काठमाडौं । ठूला बैंक तथा वित्तिय संस्थाले अटो लोन धमाधम बन्द गरेका छन् । देशकै सबैभन्दा ठूलो बैंक नविल र अन्तर्राष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डले अटो लोन बन्द गरेका हुन् ।
सरकारले करिब ९ महिनापछि सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध खुल्ला गरेसँगै ठूला बैंकले कर्जा बन्द गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सरकारले पुस १ देखि गाडी आयात खुल्ला गरेको थियो, त्यसपछि गाडी आयातको लागि बैंकहरुले एलसी खोल्न थाले पनि अहिले गाडी किन्ने ग्राहकलाई भने कर्जा दिन बन्द गरेका हुन् ।
पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा बैंकहरुले भने उल्टो अटो लोन दिन बन्द गरेसँगै गाडी किन्न कुरेर बसेका उपभोक्ता र गाडी विक्री गर्ने कम्पनीहरु थप समस्यामा पर्ने देखिएको छ ।
बैंकहरुले अटो लोनको प्रोडक्ट नै बन्द गर्नुको मुख्य कारण यसको जोखिमभार धेरै हुनुलाई लिएको अनुमान गर्न सकिन्छ । केन्द्रिय बैंकले गतवर्ष फागुनबाट १०० प्रतिशत जोखिमभार रहेको अटोकर्जालाई उच्च जोखिमको सूचीमा राख्दै १५० प्रतिशत बनाएको थियो । त्यसकै कारण बैंकहरुले धमाधम अटोकर्जा बन्द गर्न लागेका हुन् ।
ब्याजदर महंगो भएको भन्दै अन्य क्षेत्रमा कर्जाको माग कम भए पनि अटो क्षेत्रमा भने क्रमिक रुपमा माग बढ्दो क्रममा रहेको थियो । महंगो नै ब्याजमा पनि ऋण लिएर गाडी किन्न चाहने ग्राहक भएपनि बैंकहरुले भने कर्जा दिन बन्द गरेको व्यवसायीहरु बताउँछन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकका अनुसार जनवरीदेखि नै बैंकले अटोलोन बन्द गरेको हो । बैंकले के कारण अटोलोन बन्द गरिएको भन्ने विषयमा भने एकिन जानकारी दिएको छैन ।
‘तत्कालको लागि अटोलोन बन्द गर्ने भनिएको छ । कहिलेबाट खुल्छ, त्यो एकिन भन्न सकिदैन’, स्ट्यान्डर्ड चार्टर्ड बैंक स्रोतले भन्यो ।
यसअघि सस्तो ब्याजदर र सहजै अटो लोन दिदै आएका नबिल, स्ट्यान्डर्ड चार्टर्ड लगायत बैंकले अहिले कर्जा दिन रोकेका छन् । विना कारण बैंकले अटो लोन दिन बन्द गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले पनि गाडी आयातमा एलसी खोल्दा राख्नुपर्ने नगद मार्जिन हटाउँदै व्यवसायीलाई सहज बनाएको थियो । तर, बैंकहरुले एकाएक कर्जा दिन बन्द गरेपछि व्यवसायी र गाडी खरिद गर्न चाहने मर्कामा परेका छन् ।


