काठमाडौं । दक्षिण कोरियाली मोटर उत्पादक हुन्डाई मोटर ग्रुपले १० लाख यूनिट न्यू इनर्जी भेहिकल विक्री पुरा गरेको छ । कम्पनीले सन् २०११ देखि अहिलेसम्मको अवधिमा १० ला यूनिट इलेक्ट्रीक कार विक्री गरेको हो ।
हुन्डाई मोटर ग्रुप अन्तर्गत रहेका हुन्डाई, किया र जेनिसस मिलेर १० लाख यूनिट न्यू इनर्जी भेहिकल विक्री गरेका हुन् । कम्पनीले सन् २०११ मा पहिलो पटक ब्लूअन नामबाट पहिलो इलेक्ट्रीक कार विक्री सुरु गरेको थियो । १६.४ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध उक्त कारले सिंगल चार्जमा १६० किलोमिटर रेन्ज दिन्थ्यो ।
त्यसपछि कम्पनीले हुन्डाई ब्राण्डमा कोना, किया ब्राण्डमा निरो जस्ता मोडल बजारमा ल्याएको थियो । साथै इलेक्ट्रीकको लागि ई–जीएमपी प्लेटफर्म बनाएर प्योर ईभी उत्पादनमा आफुलाई केन्द्रित गरेको हुन्डाई मोटर ग्रुपले अहिले आधुनिक ईभीमा राम्रो बजार पाउन सफल भएको छ ।
हुन्डाई र जेनिसस ब्राण्ड नेमबाट कम्पनीले अहिलेसम्म ६ लाख १ हजार ४४८ यूनिट ब्याट्री इलेक्ट्रीक र प्लगइन हाइब्रिड कार विक्री गरिसकेको छ । साथै, किया ब्राण्डबाट ४ लाख २० हजार ८३६ यूनिट कार विक्री गरेको छ । यी सबै मिलाउँदा १० लाख २२ हजार २८४ यूनिट न्यू इनर्जी भेहिकल विक्री भएको हो ।

सन् २०२२ मा कम्पनीले सबैभन्दा धेरै ३ लाख ७१ हजार ८३८ यूनिट विद्युतीय कार विक्री गरेको थियो । हुन्डाई मोटर्सको विक्रीमा ठूलो हिस्सा प्योर इलेक्ट्रीक कारको रहेको छ । ग्रुपले आयोनीक ५, ईभी ६, कोना, निरो, आयोनीक ६, सोल जस्ता मोडल विक्री गर्दै आएको छ । प्रिमियम ब्राण्ड जेनिससको ईभी भर्खर मात्रै बजारमा आएको हो ।
हुन्डाईले सबैभन्दा धेरै कोना इलेक्ट्रीक विक्री गरेको छ भने हाइड्रोजन फ्यूलसेलमा नेक्सो मोडलको विक्री अहिलेसम्म ३२ हजार यूनिट पुगेको जनाएको छ ।


