बन्यो मानव रहित अटोनोमस इलेक्ट्रीक कार्गो प्लेन, नेपाल जस्ता देशलाई फाइदा हुने

काठमाडौं । अकल्याण्डको एयरक्रफ्ट म्यानुफ्याक्चरीङ कम्पनी पाइकाले हालै मानव रहित इलेक्ट्रीक ‘पेलिकान कार्गो अटोनोमस प्लेन’ सार्वजनिक गरेको छ । यो जहाज हालसम्म बनेको मध्ये पहिलो पूर्णतया मानव रहित अटोनोमस जीरो इमीसन कार्गो प्लेन हो ।

यो प्लेन परम्परागत कार्गो प्लेन जस्तो बनिसकेको छैन । किनकी यो कार्गो प्लेनको पेलोड क्यापासिटी ४०० पाउण्डको मात्रै छ । ब्याट्री इलेक्ट्रीक पावरले उड्ने प्लेनको रेन्ज भने सिंगल चार्जमा करिव ३२२ किलोमिटर (२०० माइल) रहेको छ ।

यसले छोटो दूरीमा हलुका सामानहरु छिटो तथा सरल तरिकाले ढुवानी गर्न अहिल्यै सहयोग गर्छ । अझ नेपाल जस्तो पहाडी भूभाग भएको स्थानमा यस्ता कार्गो प्लेन निकै उपयोगी हुने देखिन्छ । पहाडी भूवनौटमा कम्बस्चन इन्जिन भएको प्लेन धेरै नै खर्चिलो सावित हुँदै आएका छन् ।

पेलेकन कार्गोका उत्पादकका अनुसार यो कार्गो जहाज उड्नका लागि जम्मा ६०० फिट (१८३ मिटर) लामो रनवे भए पुग्छ । यसको डिजाइन ग्राभेल, हिलाम्मे, घाँसे वा सिमेन्टेड जस्तो सुकै रनवेबाट पनि उड्न सक्ने किसिमको छ । जहाजको स्पीड ८० देखि ९० नटीकल माइल (१११–१४८ किलोमिटर) प्रतिघण्टाको रहेको छ । यो जहाजमा ६६ क्यूवीक फिट भोलुम भएको सामान ओसार प्रसार गर्न सकिन्छ ।

परम्परागत सानो जहाजको जस्तो डिजाइन भएको यो कार्गो प्लेनमा चारवटा इलेक्ट्रीक मोटर रहेको छ । यसको कम्वाइन पावर १०० किलोवाट बराबर छ । यो जहाजमा फुल्ली स्वापेवल ५० किलोवाट आवरको ब्याट्री छ । जसलाई १ घण्टामा रिचार्ज गर्न सकिने कम्पनीको दावी छ ।

पाइकाका अनुसार यो इलेक्ट्रीक जहाज संचालन गर्न समान्य ट्रेनिङ लिनु पर्छ । यसलाई टाढैबाट कम्प्यूटरको सहायताले चलाउन सकिन्छ । यो जहाजमा फुल्ली रेडन्टन प्रपल्सन, कन्ट्रोल्स, सेन्सर सुइटका साथै जीपीएस, रात्री उडानका लागि लेजर/राडार वेस न्याभिगेसन तथा व्याकअप प्यारासुट समेत रहेको छ ।

सन् २०१७ मा स्थापना भएको यो कम्पनीका सीईओ माइकल नरसियाले आफ्नो प्यारेन्सको ग्यारेजबाट यो जहाज बनाउन सुरु गरेका थिए । सुरुमा उनले किसानका लागि उपयुक्त अटोनोमस क्रप स्पेरर बनाएका थिए । उनको क्रप स्पेयरर प्लेनहरु न्यूजल्याण्ड तथा कोस्टारिकामा प्रयोग भइरहेका छन् ।


Back_to_top