काठमाडौं । कमर्सियल सेग्मेन्टमा टाटाले विद्युतीय ट्याक्सी नेपाल ल्याएको छ । टाटाका सवारी नेपाली बजारमा आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको सिप्रदी ट्रेडिङले विद्युतीय ट्याक्सीका लागि उपयुक्त सेडान कार एक्सप्रेस टी नेपाल ल्याएको हो ।
सरकारले विद्युतीय ट्याक्सी चलाउने योजना अनुसार आवश्यक ऐन निर्माण गरेसँगै टाटाले एक्सप्रेस टी मोडल नेपाल ल्याउने आन्तरिक तयारी सुरु गरेको थियो । त्यसको लागि सिप्रदीले छुट्टै शोरुमदेखि सर्भिस नेटवर्क तयार पारेको जनाएको छ ।
विद्युतीय साधनलाई प्राथमिकतामा राखेर सरकारले योजना ल्याएको कारण चालकहरुलाई समस्या नहोस् भनेर टाटाले सबै किसिमका सुविधा दिन सक्नेगरी ट्याक्सी ल्याउन लागेको मेरोअटोलाई बतायो ।
टाटाले ट्याक्सीको रुपमा ल्याएको एक्सप्रेस टीमा ५५ किलोवाट क्षमताको मोटर र २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान भएको छ । यसले १७० एनएम टर्क उत्पादन गर्छ । अटोमोटीभ नियामक संस्था एआरएआईका अनुसार यसले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज प्रदान गर्छ ।
५ सिट क्षमता भएको यस ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्नेछन् । यसको टर्निङ रेडियस ५.१ मिटर रहेको छ । बुट स्पेस ३१६ लिटर पाउन सकिन्छ ।
गाडीको लम्बाई ३९९३ एमएम, चौडाई १६७७ एमएम र उचाई १५३२ एमएम छ । त्यसैगरी, २४५० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
एसी र डिसी दुबै चार्ज सर्पोट गर्ने एक्सप्रेस टीलाई १५ एम्पायरको चार्जिङ पोर्टबाट करिब ९ घण्टामा शुन्य देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । त्यस्तै, २५ किलोवाट क्षमताको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा भने ६५ मिनेट भित्र नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
मल्टी ड्राइभ मोड उपलब्ध यो गाडीमा अगाडि ह्वीलमा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक दिइएको छ । यस ईभी ट्याक्सीमा ह्वील एसिस्ट सिस्टमसँगै थप आकर्षक फिचर समावेश गरिएको छ ।
सुरक्षाका लागि यसमा ड्यूल एयरब्याग, इबीडी सहितको एबीएस, पावर विन्डो, ड्राइभर इन्फरमेसन सिस्टम दिइएको छ ।
सिप्रदीले एक्सप्रेस टी मोडलको विद्युतीय कार नेपाली बजारका लागि ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरी बिक्री सुरु गर्ने तयारी थालेको छ ।
विशेष प्याकेज पाइने
कम्पनीले ईभी ट्याक्सी खरिद गर्ने ग्राहकका लागि विशेष प्याकेज समेत तयार गरेको छ । यसमा ग्राहकले ब्याट्री प्याक र मोटरमा ३ वर्ष अथवा १ लाख २५ हजार किलोमिटर वारेन्टी प्राप्त गर्नेछन् ।
त्यसैगरी, कम्पनीले एक वर्षको इन्स्युरेन्स, १ वर्षका लागि रोड ट्याक्स निःशुल्क दिने छ । साथै, अन्य एसेसरीज, रिभर्स पार्किङ क्यामेरा,जीपीएस, फ्लोर म्याट, डोर भाइजर, मड गाड, ट्याक्सी लेखिएको डिजिटल बोर्ड, स्पेयर टायर जस्ता अत्यावश्यक सामान थप गरिदिने जनाएको छ ।
गाडीको मूल्यमा नै कम्पनीले ३ वर्षसम्मका लागि आवश्यक पर्ने सर्भिस लगायतका काम प्रदान गर्नेछ । ग्राहकले अतिरिक्त रकम तिर्नु पर्ने छैन । यसले ग्राहकलाई बीचमा आउन सक्ने खर्चबाट ढुक्क बनाउने छ ।

