काठमाडौं । भारतमा उत्पादन हुने सम्पूर्ण टाटाका कार अब बीएस६ फेज २ मोडलमा आउने भएका छन् ।
भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले पेट्रोल, डिजेल र सीएनजी पावरट्रेन अप्सनसहितको आफ्नो पोर्टफोलियोलाई नयाँ फिचर्स थपेर अपग्रेड गरी बीएस ६ फेज २ कम्प्लाइन्ट बनाउने भएको हो ।
कम्पनीले उक्त अपग्रेडमा यात्रुको सुरक्षालाई सुनिश्चित गरेको छ भने ड्राइभबिलिटी र आरामदायी यात्रा प्रदान गर्नेछ।
अब आउने मोडलमा आरडीइ तथा ई २० कम्प्लाइन्ट इन्जिनको प्रयोग गरिएको हुनेछ । यसमा कम्पनीले स्ट्याण्डर्ड वारेन्टीको समयावधि बढाउने भएको छ ।
यससँगै भारतमा अब ग्राहकले टाटाका कार खरिद गर्दा ३ वर्ष वा १ लाख किलोमिटर रेन्ज वारेन्टी प्राप्त गर्न सक्नेछन्। यसअघि भने कम्पनीले २ वर्ष वा ७५ हजार किलोमिटर रेन्ज वारेन्टी प्रदान गर्दै आएको थियो। यो व्यवस्थाले ग्राहकका लागि झन्झटरहित स्वामित्व अनुभव हुने कम्पनीले जनाएको छ ।
पर्फर्मेन्स अपग्रेड
टाटाले अल्ट्रोज र पञ्चको लो(इन्ड ड्राइभ एबिलिटीलाई व्यापक सुधार गरेको छ । यसले कम गियरमा नै सहजताका साथ ड्राइभिङ अनुभव प्रदान गर्दछ। यी दुई मोडलमा कम्पनीले स्ट्याण्डर्ड भेरियन्टमा जस्तै आइडल स्टप स्टार्टको फिचर दिएको छ । यसले अन–रोड माइलेज थप प्रदान गर्दछ ।
कम्पनीले आफ्नो डिजेल इन्जिनयुक्त कारमा आफ्ना ग्राहकहरूलाई विभिन्न विकल्प प्रदान गर्दै आएको छ । यसपटक भने टाटा मोटर्सले अल्ट्रोज र नेक्सन दुवैका लागि रिभोटर्क डिजेल इन्जिनमा अपग्रेड गरेको छ। कम्पनीले टाटा नेक्सनको डिजेल इन्जिनलाई अझ राम्रो पर्फर्मेन्स प्रदान गर्न पुनः परिवर्तन गरेको जनाएको हो ।
सुधार गरिएको सेफ्टी र ड्राइभबिलिटी
सुरक्षाका लागि टाटाले टियागो र टिगोरमा टायरको प्रेसर के कति छ भनी नाप्ने प्रविधि टायर प्रेसर मनिटरिङ सिस्टम ‘टीपीएमएस’ थप गरेको छ । यसले यात्राका क्रममा हुने जोखिम र सम्भावित दुर्घटनाबाट जोगिन मद्दत गर्छ ।

