काठमाडौं । टोयोटाले बैंकक इन्टरनेशनल मोटर शो २०२३ मा दुई वटा नयाँ प्रविधिको भेहिकल प्रदर्शन गरेको छ ।
कम्पनीले टोयोटा हाइलक्स रेभो बीईभी (ब्याट्री इलेक्ट्रीक भेहिकल) को कन्सेप्ट मोडल प्रदर्शन गरेको छ भने कोराला क्रसलाई हाइड्रोजन फ्युलबाट चल्ने मोडल देखाएको हो ।
टोयोटाले हाइलक्स हाइड्रोजन फ्युलसेल टेक्नलोजीमा बेलायतमा तयार गरिरहेको छ भने यसको इलेक्ट्रीक भर्सन थाइल्याण्डमा विकास गरिरहेको छ।
कम्पनीको अनुसार यो पिकअप आठौं जेनेरेसन मोडलको ईभीमा कन्भर्ट गरिएको मोडल हो । प्राय धेरैजसो कम्पनीको इलेक्ट्रीक पिकअप डुअल क्याबमा आउने गरेकोमा यसमा भने सिङ्गल क्याब लेआउट पाउन सकिने कम्पनीले बताएको छ।

यसको डिजाइन कम्बस्चन इन्जिनयुक्त मोडलको जस्तै रहेको छ। यसको बाहिरी भाग २०२० अघिको ईभी गाडी जस्तो देखिन्छ। कम्पनीले नवौं जेनेरेसनमा भने आकर्षक फिचर्सहरू समावेश गर्ने अपेक्षा गरिएको छ ।
हाल यो गाडीको स्पेसिफकेसन बारे कुनै विवरण सार्वजनिक भएको छैन । तर, यसमा अगाडिको भागमा सीसीएस २ चार्जर पोर्ट हुने अनुमान गरिएको छ ।
यसमा रहेको ब्याट्री प्याकलाई आधा घण्टामा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ । यसले न्यूनतम २२५ माइल अर्थात् ३६२ किलोमिटरको रेन्ज दिने अपेक्षा गरिएको छ ।
त्यसैगरी, टोयोटाले आफ्नो कोराला क्रस मोडललाई हाइड्रोजन फ्युलको रूपमा प्रयोग हुने कम्बस्चन इन्जिनमा प्रदर्शन गरेको छ । टोयोटाले यो मोडललाई कोरोला क्रस एच २ कन्सेप्ट नाम दिएको छ ।

यो हाइड्रोजनबाट संचालन हुने कम्बस्चन इन्जिन भएको कम्प्याक्ट एसयूभी हो । यसमा टोयोटाको मिराइमा जस्तो हाइड्रोजन फ्युलसेल टेक्नलोजी नभई रेगुलर कम्बस्चन इन्जिनमा हाइड्रोजन फिउल प्रयोग हुने नयाँ इन्जिनको प्रयोग गरिएको छ ।
यसमा जीआर कोरोलाको १.६ लिटर टर्बोचार्ज्ड डाइरेक्ट इन्जेक्शन थ्री सिलिन्डर इन्जिनको परिमार्जित संस्करण प्रयोग गरिएको छ । यसमा पेट्रोलमा जस्तै हाइड्रोजनका लागि ट्यांक दिइएको छ । यो ट्यांकको आयु १५ वर्षको हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यसलाई परिवर्तन गर्न परे पनि खासै महँगो नहुने बताइएको छ ।


