नाडा अटो शोमा छुटको प्रतिस्पर्धा, एउटै स्कुटरमा २० हजारसम्म छुट

काठमाडौं । हिजोबाट काठमाडौंको भृकुटी मण्डपमा नाडा अटो शो सुरु भएको छ । हरेक वर्ष हुने नाडा अटो शो सधै दशैं तिहारको मुखमा हुने गरेको छ । त्यसैले कम्पनीहरुले नाडा अटो शोको मुखमा बिभिन्न अफरहरु सार्वजनिक गर्ने गरेका छन् । 

यस्तोमा नाडा अटो शोमा चलिरहेको अफरमा बाइक किन्नेहरुले एउटै स्कुटरमा २० हजारसम्म छुट पाउने भएका छन् । अटो शोमा रनर बाइकले यस्तो अफर दिएको छ, उसले आफ्ना बाइक तथा स्कुटरमा कम्तिमा २० हजार छुट दिने अफर ल्याएको छ ।  

रनर मोटरसाइकल 

रनर कम्पनीको लागि नेपालको आधिकारीक वितरक रमान मोटर्सले नाडा अटोलाई लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । कम्पनीले नाडा अटोलाई लक्षित गर्दै डोमिनेटर, हवाक, रोडेओ, फायरब्लेड, नाइट राइडर, टर्बाेलगायत ९ मोडलमा २० हजार छुट दिने निर्णय गरेको छ भने काइट प्लस, रोयल प्लस, चेता, एडी–८० डिलक्स, बाइक आरटीमा ३० हजारसम्म छुट दिने भएको छ ।

साथै, कम्पनीले शुक्रबार ६ नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ भने नयाँ आउँदै गरेको मोडल पनि २० देखि ३० हजार छुट दिने जानकारी दिएको छ ।

टीभीएसको अफर 

नाडा अटो शोलाई लक्षित गर्दै टीभीएस अटोमोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विभिन्न स्किम ल्याएको छ । कम्पनीले हालै सार्वजनिक गरेको टीभीएस–३१० आरआर बाहेक अन्य जुनसुकै मोडलमा सो अफर दिने भएको हो । 

कम्पनीकाअनुसार अन्य मोटरसाइकल तथा स्कुटरमा सात हजार छुट दिने भएको छ । यसका अलवा ‘लक्की ड्र’ मार्फत् १० जनालाई १० हजार तथा एक जनालाई एक लाख रुपैयाँ दिने भएको छ । कम्पनीले ग्राहकलाई आकर्षण गर्ने उद्देश्यअनुरुप सो स्किम ल्याएको हो । 

हिरोको मोटरसाइकल

हिरो मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता नेपाल जेनरल मोटर्स नाडा अटो शोमा मोटरसाइकल खरिद गर्ने ग्राहकले ६ हजारसम्म छुट दिने भएको छ । त्यस्तै, कम्पनीले स्कुटरमा आठ हजार रुपैयाँसम्म छुट दिने भएको छ । यसकासाथै, एकजना भाग्यशाली ग्राहकलाई ‘लक्की ड्र’ मार्फत् एक लाख रुपैयाँ नगद पुरस्कार दिने कम्पनीले जनाएको छ । 

अप्रिलिया 

अप्रिलियाका लागि नेपालको आधिकारीक वितरक कम्पनी डि–लाइफ स्टाइल्सले नाडा अटो तथा चाडपर्वलाई लक्षित गर्दै विभिन्न स्किम ल्याएको छ ।

कम्पनीले ‘सुपर सट अफर’ अन्तर्गत ३० हजार रुपैयाँसम्म दिने भएको छ । त्यस्तै, दुईजना भाग्यशाली विजेतालाई युरोप भ्रमणमा पठाउने भएको छ भने र १०० प्रतिशत पैसा फिर्ताको अफर राखेको छ । 

त्यस्तै, पूर्व–पश्चिम भ्रमणको अवसर दिनुकासाथै २३ हजार रुपैयाँसम्मको फ्रि एशोसरिज, एक्सचेञ्ज बोनशअन्तर्गत १० हजार रुपैयाँसम्मको अफरसमेत राखेको छ । साथै, कम्पनीले फाइनान्स तथा एक्सचेञ्ज सुविधा प्रदान गर्ने भएको छ । त्यस्तै, दुईजना भाग्यशाली ग्राहकलाई अप्रिलिया एसएक्स र आरएक्स मोटरसाइकल प्रदान गर्ने जनाएको छ । 

बजाज मोटरसाइकल

बजाजले दशै तिहार क्याम्पेन घोषणा गरेको छ । बजाजको लागि नेपालको आधिकारीक विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले हरेक वर्ष जस्तै यस वर्षपनि दशैं तिहार क्याम्पेन सार्वजनिक गरेको हो । 

‘पकेट फुल’ नाम दिइएको अफर योजनामा सहभागि मोटरसाइकल खरिदकर्ताले आफ्नो शरिरमा लगाएको लुगामा भएको खल्तिभरी पैसा जित्न सक्ने छन् । करिब २ महिना चल्ने यो अफर योजनामा हरेक हप्ता लक्की ड्र आयोजना गरेर एक जनालाई विजेता घोषणा गरिने छ । 

नयाँ अफर योजनामा हरेक मोटरसाइकलको खरिदमा एउटा स्क्रयाच कुपन कार्ड पाइने छ र जसअन्तर्गत हातखाली नहुनेगरी ६ हजारदेखि १ लाखसम्म तत्कालै नगद पुरस्कार तथा छुट जित्न सकिने कम्पनीले जनाएको छ ।


Back_to_top