काठमाडौं । युरोपियन प्रिमयम मोटरसाइकल ब्राण्ड डुकाटीले साना क्षमताको मोटरसाइकल उत्पादन गर्ने भएको छ ।
प्रतिस्पर्धी अन्य ब्राण्डहरूले धमाधम साना मोटरसाइकल उत्पादन थालेसँगै डुकाटीले पनि उत्पादन गर्ने भएको हो ।
डुकाटी मोटरसाइकलका सेल्ल तथा मार्केटिङ हेड मार्को विन्डीले डुकाटीले सानो क्षमताको मोटरसाइकल उत्पादन गर्ने बताएका हुन् ।
उनका अनुसार कम्पनीले उत्पादन गर्ने सानो क्षमताको मोटरसाइकल भने इलेक्ट्रीक मोटरसाइकल हुनेछ । विन्डीका अनुसार डुकाटी इलेक्ट्रीक मोटरसाइकलमा ११ किलोवाटदेखि ३५ किलोवाट पावरसम्मका मोटर प्रयोग हुनेछ ।
डुकाटीले ल्याउने मोटरसाइकल २५० किलोमिटरभन्दा कम रेन्ज नहुने समेत उनले बताए
डुकाटी साना क्षमताको मोटरसाइकल सेग्मेन्टमा प्रवेश गर्ने अन्तिम युरोपिय ब्राण्ड समेत भएको छ । यसअघि केटीएम, ट्रायम्फ, बीएमडब्ल्यू तथा एमभी अगष्टासमेतले साना मोटरसाइकल उत्पादन सुरू गरिसकेको छन् ।
यी सबैजसो कम्पनीहरूले भारतीय मोटरसाइकल उत्पादक कम्पनीहरूसँग सहकार्य गरेर साना क्षमताका मोटरसाइकल उत्पादन गर्दै आएका छन् ।
अमेरिकी बिग ब्याड बाइक उत्पादकका रूपमा परिचित हार्लेले समेत ३५० सीसी क्षमताको मोटरसाइकल बिक्रीमा ल्याएको छ ।


