काठमाडौं । एचएच बजाजले पल्सर एनएस–१६० डवल डिस्क सार्वजनिक गरेको छ । नाडा अटो शोको तेस्रो दिन बिहिवार यो बाइकलाई मेलामा नै सार्वजनिक गरिएको हो ।
बाइकको अगाडिको पाङ्ग्रामा २४० मिलिमिटरको डिस्क ब्रेक दिइएको छ भने, पछाडिको पाङ्ग्रामा २३० मिलिमिटर डिस्क ब्रेक लगाइएको छ । यसमा कुनै पनि मेकानिकल परिमार्जन नगरिएको कम्पनीले जनाएको छ ।
नयाँ बाइकको टायर साइजपनि पुरानोको तुलनामा मोटो रहेको कम्पनीले जानकारी दिएको छ ।
मोटरसाइकलमा मौजुद १६० सीसीको फोरस्ट्रोक ओयल–कुल्ड इञ्जिनले ८५०० आरपीएममा १५.५ बीएचपी पावरकासाथै ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । इञ्जिनमा पाँच स्पीड म्यानूअल गियरबक्स लगाइएको छ ।
अर्को वर्ष सार्वजनिक हुने बजाज पल्सर एनएस–१६० मा सिङ्गल च्यानल एबीएस सिस्टम दिने कम्पनीले जनाएको छ । भारतीय कम्पनीले १५० देखि १६० सीसी इञ्जिन क्षमताका मोटरसाइकललाई सिङ्गल च्यानल एबीएसमा अपग्रेड गर्दैआएका छन् । परिमार्जन गरिएको सवारी ऐन र उत्र्सजन कानुनबमोजिम २०१९ को अप्रिल महिनाबाट यो सुविधा राख्नु अनिवार्य बनाइएको छ ।
भारत सरकारले परिवर्तन गरेको नियमबमोजिम १२५ सीसी वा सोभन्दा बढी इञ्जिन क्षमताका सवारीसाधनले २०१९ सम्ममा सिङ्गल च्यानल एबीएस अनिवार्यरुपमा लगाउनै पर्नेछ ।
कम्पनीले पुरानो एनएस १६० लाई नेपाली बजारमा २ लाख ८६ हजार ९०० मा बिक्री वितरण गरिरहेको थियो । तर, नयाँ मोडलको मूल्य भने टुङ्गो नलागेको कम्पनीले जनाएको छ ।


