१०० किलोवाटको मोटरमा फोर्ड पुमा, पहिलो उत्पादन राइट ह्याण्ड ड्राइभ

काठमाडौं । अमेरिकी कार निर्माता फोर्डले पुमा एसयूभीको इलेक्ट्रीक भर्सन ल्याउने भएको छ । फोर्ड अष्ट्रेलियाले पुमा इलेक्ट्रीकको टिजर सार्वजनिक गर्दै नयाँ एसयूभी तयार रहेको जनाएको हो ।

तत्काल अमेरिकी बजारमा उपलब्ध नहुँने पुमा एसयूभी अष्ट्रेलियाबाट विक्री सुरु हुने अनुमान गरिएको छ । अष्ट्रेलियापछि उक्त एसयूभी यूरोपहुँदै एशिया प्रसान्त क्षेत्रमा उपलब्ध हुनेछ ।

फोर्डले नेपालमा पनि इलेक्ट्रीक मोडल ल्याउन प्रयास गर्नेछ । त्यस्तोमा पुमा एसयूभी सुरुमा नै राइड ह्याण्ड ड्राइभमा आउने भएको कारण नेपाल आउने सम्भावन रहन्छ । अहिलेसम्मको अवस्थामा पुमा फोर्डको सबैभन्दा सानो इलेक्ट्रीक एसयूभी हुनेछ । कम्पनीले अहिले विक्री गर्दै आएको मस्टाङ म्याकी, एक्सप्लोरर जस्ता एसयूभी पुमाभन्दा ठूलो साइजमा उपलब्ध छन् ।

फोर्डले पुमामा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसले १३४ पीएस पावर र २९० एनएम टर्क प्रदान गर्छ । यसले १०० किलोवाट क्षमताकै फास्ट डिसी चार्जर सपोर्ट गर्ने क्षमता राख्छ । उक्त चार्जरले यसमा रहेको ब्याट्रीलाई १० देखि ८० प्रतिशत चार्ज केबल ३५ मिनेटमा गर्छ ।

१०० किलोवाटको डिसी चार्जरले यसलाई १० मिनेट मात्रै चार्ज गर्दा पनि ८५ किलोमिटर चलाउन पुग्ने चार्ज हुन्छ । यसका बाबजुद कम्पनीले यसमा कुन साइजको ब्याट्री दिएको छ भन्ने विषय अहिलेसम्म बाहिर ल्याएको छैन । चर, सिंगल चार्जमा रेन्ज भने ३२० किलोमिटर हाराहारी हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुन्डाई कोना, किया निरो र सोल जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने फोर्ड पुमाको मूल्य पनि हुन्डाई कोना हाराहारी रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top